Skip to content

ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने ट्रम्पको चेतावनी, युरोपेली राष्ट्रहरूको आपत्ति

 

वासिङ्टन डिसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्प समेत प्रयोग हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय स्तरमा चासो र चिन्ता बढेको छ । ह्वाइट हाउसले ग्रीनल्याण्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाको प्राथमिकता का रूपमा व्याख्या गर्दै यसका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको पुष्टि गरेको छ । मंगलबार जारी विज्ञप्तिमा ह्वाइट हाउसले अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर–इन–चिफ अर्थात् राष्ट्रपतिको नियन्त्रणमा रहने विकल्प भएको उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्‍याएका छन् । तर डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यसले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को अस्तित्वमै प्रश्न उठ्ने चेतावनी दिएकी छन् ।

युरोपेली राष्ट्रहरूको आपत्ति

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन जनाएका छन्। उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको स्पष्ट गर्दै यसको भविष्यबारे निर्णय गर्ने अधिकार डेनमार्क र ग्रीनल्याण्डलाई मात्र रहेको बताएका छन् । युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् । ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले पनि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै सबै पक्षबीच सम्मानजनक संवाद आवश्यक रहेको बताएका छन् ।

विवादको पृष्ठभूमि

यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको हालैको सैन्य हस्तक्षेपपछि थप चर्किएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएको घटनापछि ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरकी पत्नी केट मिलरले सामाजिक सञ्जालमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाका रङमा रंगाइएको नक्सा पोस्ट गर्दै ‘चाँडै’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । यसअघि सोमबार स्टिफन मिलरले ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्ने कुरा सरकारको औपचारिक धारणा भएको बताएका थिए । सीएनएनसँगको अन्तर्वार्तामा उनले ग्रीनल्याण्डको भविष्यका लागि अमेरिकासँग कसैले पनि युद्ध नगर्ने दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्