काठमाडौँ – समाजसेवी तथा अनुभवी अधिवक्ता धर्मानन्द जोशीले नेपाली कांग्रेस रुपान्तरण हुनुका साथै एकताबद्ध पनि रहनुपर्नेमा जोड दिएका छन् । लामो समय संयुक्त राष्ट्र संघमा मानव अधिकारको क्षेत्रमा काम गरेका जोशीले महाधिवेशन नै पार्टी सुधार र रुपान्तरणको विधिवत् प्रक्रिया भएको बताएका हुन् । उनका अनुसार जनताहरू नेपाली कांग्रेस सुध्रिएको र रुपान्तरण भएको देख्न चाहन्छन् । “रुपान्तरित हुने विधिवत् प्रक्रिया महाधिवेशन हो,” उनले भने । पुष महिनामा हुने भनिएको नियमित महाधिवेशन वैशाखमा सारिएको स्मरण गराउँदै उनले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको उल्लेख गरे ।
जोशीका अनुसार पुष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्न हल बुक गरिएको छ। “नेपाली कांग्रेस रुपान्तरण पनि होस्, नटुक्रियोस् पनि भन्ने गम्भीर चाहना सबैको छ,” उनले भने । उनले विशेष महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने अवस्था बनेमा पार्टी सभापति शेरबहादुर देउवाले स्वयं अध्यक्षता गरी त्यसबाट आउने परिणामको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । “विशेष महाधिवेशनबाट पार्टीलाई एकताबद्ध राख्दै रुपान्तरणको स्पष्ट मार्गचित्र तय गरेर अघि बढ्नु उत्कृष्ट हुनेछ,” उनको भनाइ छ । बहुमत महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हुने भएकाले त्यसले आफ्ना एजेन्डा, कार्यविधि र निर्णय अघि बढाएमा परिस्थिति फरक दिशातर्फ जान सक्ने संकेतसमेत उनले गरेका छन् ।
“समय र सन्दर्भ सुखद छैन, घरभित्रको झगडा पीडादायी छ,” जोशीले भने, “यसको उचित व्यवस्थापन गर्ने अभिभावकत्वको जिम्मेवारी पार्टी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमितिको हो।” उनले नवपुस्ता, जनता र मतदाताको भावनालाई कदर गर्न समय र सन्दर्भले स्पष्ट सन्देश दिएको बताए । समय परिवर्तनशील हुने उल्लेख गर्दै जोशीले सुधार र रुपान्तरण नियमित प्रक्रिया भएको र यो पुषपछि पनि निरन्तर जारी रहने स्पष्ट पारे। उनी नेपाली कांग्रेस दार्चुलाबाट सक्रिय राजनीतिमा आउन चाहेको बुझिएको छ ।





प्रतिक्रिया दिनुहोस्