Skip to content

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै काम सम्पन्न भइसकेका छन्। माघ २ गतेदेखि नै आयोगको टोली सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उहाँले जानकारी दिनुभयो।

पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन्। मतदान अधिकृतहरूले केन्द्रमा सूचना टाँस गर्ने, प्रशासनिक तयारी गर्ने लगायतका काम अघि बढाइरहेका छन्। साथै, स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक बसी मतदान प्रक्रियाबारे साझा बुझाइ तयार गर्ने कार्यसमेत भइरहेको छ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “केन्द्रीय तहको तयारी सकेर आयोग अहिले २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ। मतदान अधिकृतले केन्द्रको सूचना प्रकाशन र प्रशासनिक तयारी गरिरहनुभएको छ। सम्भवतः आज सबै मतदान केन्द्रमा राजनीतिक दल र उम्मेदवारसँगको छलफलबाट साझा समझदारी तयार भइसकेको छ।”

उहाँका अनुसार भोलिसम्म मतदान केन्द्रमा बुथ निर्माण सम्पन्न गरिनेछ भने पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्या तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको जनाएको छ। सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्