काठमाडौँ, २० फागुन : राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।
परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको निष्कर्ष निकालेको छ।
बैठकले मुलुकमा शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो।
बैठकमा राष्ट्रिय सुरक्षाका विविध चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले पार्न सक्ने प्रभाव र भावी रणनीतिबारे पनि छलफल भएको थियो।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो।





प्रतिक्रिया दिनुहोस्