Skip to content

अपिहिमालका अध्यक्ष बोहरालाई प्रश्न – कोरिया भ्रमणको सिकाईलाइ अपिहिमालमा कसरी लागु गर्न सकिन्छ ? (भिडियो सहित)

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले दक्षिण कोरियाको भ्रमणबाट सिकेका प्रविधि, सेवा प्रवाह र विकासका अभ्यासलाई आफ्नो पालिकामा लागू गर्ने बताएका छन् । हालै दक्षिण कोरियाको भ्रमण सकेर फर्किएका अध्यक्ष ठेकरे बोहराले भ्रमणका क्रममा कृषि प्रविधि, स्थानीय सरकारको सेवा प्रवाह, डिजिटल प्रणाली, फोहोरमैला व्यवस्थापन, खानेपानी तथा पूर्वाधार विकासको अवलोकन गरेको बताए । उनका अनुसार कोरियामा अधिकांश सरकारी सेवा डिजिटल र कागजरहित प्रणालीबाट सञ्चालन भइरहेकाले नागरिकलाई सहज सेवा उपलब्ध भइरहेको छ ।

अध्यक्ष बोहराले नेपालमा पनि भौतिक पूर्वाधारसँगै सूचना प्रविधिको पूर्वाधार विकास गर्न सके डिजिटल सेवा विस्तार गर्न सकिने बताए । कृषि क्षेत्रमा कोरियाले अनुसन्धानमा आधारित उत्पादन प्रणाली अपनाएको उल्लेख गर्दै उनले नेपालका कृषि विज्ञ र अनुसन्धानकर्तालाई उत्पादनसँग जोड्ने नीति आवश्यक रहेको धारणा राखे । कोरियाको ‘सेमाउल’ अभियानबाट जनसहभागितामार्फत स्थानीय विकास गर्न सकिने महत्वपूर्ण पाठ सिकेको उनले बताए । सरकारबाट प्राविधिक तथा आवश्यक सहयोग र नागरिकको श्रमदानमार्फत विकास गर्ने मोडललाई अपिहिमालमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ । अध्यक्ष बोहराले बाँकी छोटो कार्यकालमा अपिहिमालका नागरिकलाई घरमै बसेर सेवा लिन सक्ने गरी डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउने कामलाई प्राथमिकता दिने बताए।

सहपाटीका प्रधान सम्पादक डम्बर मिश्रले गाउँपालिका अध्यक्ष बोहरासँग गरेको कुराकानीको सम्पादित अ‌ंश 

भर्खरै दक्षिण कोरियाको भ्रमण सकेर फर्किनुभएको छ । खास गरेर यो दक्षिण कोरिया भ्रमणको उद्देश्य के थियो, यहीँबाट सुरुवात गरौँ ।

विशेष गरी मित्रराष्ट्र कोरियाको एउटा सरकारी संस्था सेमाउल अन्दोनको निमन्त्रणामा हामी कोरिया गएका थियौँ। सेमाउल भनेको कोरियाको आधुनिक कोरिया निर्माणको एउटा सहयात्री संस्था, जो आधुनिक कोरियाका निर्माता अथवा प्रथम राष्ट्रपति पार्क चुङ-हीले स्थापना गरेको, जसलाई नयाँ गाउँ अभियान पनि भन्छ। त्यो संस्थाको निमन्त्रणामा हामी दक्षिण कोरियाको भ्रमणमा गएका थियौँ । र त्यो भ्रमण चाहिँ निकै फलदायी भएको छ । दक्षिण कोरिया यो पछिल्लो १९५० को दशकपछि कसरी आधुनिक कोरिया बन्न सक्यो भन्ने हिसाबले त्यो संस्थाले हामीलाई त्यो इतिहास, कोरियाको इतिहास लगायतका विषयमा तालिमहरू र अन्तरक्रिया गरेको थियो ।

दक्षिण कोरिया पुगेपछि यहाँले के-केको अवलोकन गर्नुभयो ? त्यहाँको विकास कसरी हेर्नुभयो ?

विशेष गरी मैले भनेँ, सेमाउल जो नयाँ गाउँ अभियानको रूपमा परिचित छ, त्यो संस्थाले हामीलाई दक्षिण कोरियाको कृषि प्रविधिको क्षेत्रमा कसरी विकास गरिरहेको छ भन्ने कुराको नजिकबाट अवलोकन गरायो । विभिन्न कृषि फार्महरूको अध्ययन-अवलोकन गराउने अवसर प्रदान गर्‍यो । त्यसै गरी त्यहाँका नगरपालिकाहरू, जो अहिले पनि भनौँ न त्यहाँ सक्रिय रूपमा काम गरिरहेका छन्, ती नगरपालिकाहरूमा कसरी काम भइरहेको छ भन्ने विषयमा अध्ययन-अवलोकन र केही अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भयो । र विशेष गरी हामीले त्यो सेमाउलकै अब केन्द्रीय हेडक्वार्टरमा हामीलाई दुई दिनसम्म प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम गर्ने अवसर प्रदान गर्‍यो, जुन अन्तरक्रियामा, जुन प्रशिक्षणमा विश्वका प्रसिद्ध प्रशिक्षकहरू, जो प्रोफेसरहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई प्रशिक्षण दिनुभएको थियो । र कसरी कोरियालाई आधुनिक कोरिया बनाउन सकियो र विश्वमा विकासको ट्रेन्डलाई कसरी अगाडि बढाउन सकिन्छ र नेपालमा कसरी चाहिँ भनौँ न यो किसिमले विकासहरूलाई चाहिँ सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल-अन्तरक्रिया भएका थिए।

दक्षिण कोरिया हामीभन्दा निकै विकसित राष्ट्र हो र त्यहाँको स्थानीय तहको अवलोकनहरू गर्दा त्यहाँको स्थानीय तह र हाम्रो स्थानीय तहहरूको सेवा प्रवाहमा के कस्ता भिन्नताहरू देख्नुभयो ?

विशेष गरी आधुनिक कोरिया अहिले निकै अगाडि बढेको छ । विश्वको लेटेस्ट टेक्नोलोजीहरू उनीहरूले प्रयोग गरिरहेका छन्, जसलाई हामी अहिले डिजिटल युग पनि भन्छौँ । डिजिटल युगमा प्रवेश गरेको कोरिया हामीले नजिकबाट अध्ययन गर्ने अवसर पायौँ । सबै कुराहरू अटोमेटिक छन् । पब्लिकले अब सेवा प्रवाह गर्ने कुरामा वा सरकारले सेवा प्रवाह गर्ने कुरामा सबै अटोमेटिक रूपमा चाहिँ सञ्चालन भएको देश छ । र स्थानीय तहहरूले पनि उहाँहरूका सेवा प्रवाह गर्ने कुरामा पनि अब अटोमेटिक सिस्टमबाटै उहाँहरूले धेरै कुरा गरिराख्नुभएको छ। यद्यपि सेवा प्रवाह गर्ने कुराहरूमा हाम्रा कार्यालयहरू, हाम्रा शाखाहरूले गर्ने सेवाहरू र उहाँहरूको चाहिँ उस्तै-उस्तै लाग्यो । अलिकति हामीभन्दा बढी शाखा र केही अलि व्यवस्थित जस्तो लाग्यो उहाँहरूको । तर सबै कुराहरू डिजिटलाइजेसन भइसकेपछि नागरिकहरूलाई छुट्टै झन्झटिलो प्रक्रियाहरू केही पनि छैनन् । सबै अनलाइनबाट र अब भनौँ न अफिसमै पुग्नुपर्दैन, पेपरलेस कोरिया छ । पेपरलेस स्थानीय सरकारहरू छन् । त्यसैले त्यो एउटा प्रविधिको युगमा चाहिँ प्रवेश गरेको कोरिया जहाँ नागरिकहरूलाई चाहिँ निकै सुविधाहरू छ ।

हामीले चाहिँ डिजिटलाइजेसनमा जानको लागि, कोरियासँग जानको लागि हामी चाहिँ कति पछाडि छौँ  ? त्यो अवस्थामा हामी अहिलेको अवस्थामा जान सकिने अवस्था छ कि छैन ? 

मुख्य कुरा पूर्वाधारको विकासको कुरा हो । पूर्वाधारको विकाससँगसँगै डिजिटलाइजेसन गर्न सकिन्छ। अहिले कोरिया पूर्वाधारको विकासमा अहिले भनौँ न युरोप र अमेरिकाभन्दा पनि अगाडि देखिन्छ । किनकि युरोप र अमेरिकाका कमी-कमजोरीहरूलाई पनि सुधारेर अहिले लेटेस्ट प्रविधिहरूको विकास उहाँहरूले चाहिँ गरिराख्नुभएको छ, पूर्वाधार विकासमा पनि । र त्यो पूर्वाधारलाई प्रविधिसँग जोडिएको छ । त्यसैले प्रविधिसँग पूर्वाधारलाई जोड्न सकियो भनेपछि त्यो डिजिटल युगमा प्रवेश गर्न सकिन्छ र डिजिटल सेवाहरू प्रदान गर्न सकिन्छ । अहिले नेपालको स्थिति भन्दाखेरि हामी पूर्वाधारको विकासमा पछाडि छौँ । भनौँ न, विश्वका प्रविधिहरू हामीसँग आए पनि हाम्रा पूर्वाधारहरूको अभावले गर्दाखेरि हामीले अहिले नै त्यो कोरियाको जस्तो चाहिँ हामीले डिजिटल युगमा प्रवेश गर्न अलि गाह्रो छ । यद्यपि असम्भव केही पनि छैन । हामीले पूर्वाधारको विकाससँगसँगै किनकि छिटो-छिटो अहिले चाहिँ यो प्रविधिको युग छिटो-छिटो एकदम डेभलप भइरहेको छ। त्यसैले यो प्रविधिको युगमा हामीले भनौँ न लेटेस्ट प्रविधिहरूलाई भित्र्याउन सकिन्छ र त्यसको लागि हामीले पूर्वाधार निर्माण गर्न जरुरी छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरू मिलेर हामीले पूर्वाधार निर्माण, पूर्वाधार भनेको त्यो भौतिक पूर्वाधारसँगसँगै यो आईटी पूर्वाधारहरू पनि हामीले निर्माण गर्न सक्यौँ भनेपछि देशलाई डिजिटल युगमा प्रवेश गर्न त्यति गाह्रो छैन ।

खास गरेर हामीले त्यहाँबाट सिक्ने भनेको कृषिका कुराहरूमा सबैभन्दा कृषिमा अत्याधुनिक कोरियालाई नै मानिन्छ अहिले । र त्यो प्रविधि चाहिँ हाम्रो देशमा भित्र्याउनको लागि सम्भव छ कि के छ, यहाँले कसरी त्यो अवलोकन गर्नुभयो ?

सम्भव छ, किनकि कोरियामा खासगरी रिसर्च बेसमा चाहिँ कामहरू अगाडि बढिरहेका छन्। सबै कुराहरू रिसर्च बेसमा भइरहेका छन् । कृषि प्रविधिको विकास, कृषि फार्मिङको विकास सबै रिसर्च बेसमा छ । हामीले त्यो रिसर्चलाई भित्र्याउन सक्यौँ भनेपछि, त्यो प्रविधिलाई भित्र्याउन सक्यौँ भने नेपालमा त्यति गाह्रो छैन । नेपाल उस्तै पनि फर्टाइल भूमि पनि हो । भनौँ न, उत्पादनको हिसाबले नेपाल धेरै उर्वर भूमि पनि हो । हामी धेरै मेहनत गर्नै पर्दैन, उनीहरूले जस्तो धेरै मेहनत गर्नै पर्दैन । हामीले सामान्य प्रविधिहरू मात्रै भित्र्याएर त्यो किसिमको चाहिँ विकास गर्न सकिन्छ भन्ने एउटा नजिकबाट अनुभूति भयो । उनीहरूले चाहिँ प्रविधिको विकाससँगसँगै जस्तो कि जिनहरूको, बीउहरूको विकास, हैन, त्यस्तो टाइपको गरिराखेका छन् । त्यसैले त्यो प्रविधि भित्र्याउन सक्यौँ भने या हामीले पनि रिसर्च बेसमा, हाम्रा पनि अब कृषि अनुसन्धान केन्द्रहरू छन्, त्यसलाई अझै व्यवस्थित गरेर हाम्रै कृषि विज्ञहरूलाई परिचालन गर्न सक्यौँ भनेपछि त्यो गर्न सकिन्छ ।

अर्को मलाई के लाग्यो भनेपछि, हामी जस्तो कि कृषि पढेका मान्छेहरू अथवा चाहिँ कुनै विषय विज्ञहरू चाहिँ अब विषय विज्ञता छ, भनौँ न सैद्धान्तिक ज्ञान धेरै छ विषय विज्ञहरूसँग, तर व्यवहारिक ज्ञानको अभाव नेपालका विज्ञहरूसँग देख्छु म । जस्तै कृषि पढेको मान्छे मैले कोरियामा भेटाएँ कि कृषिका प्रोफेसरहरू जो रिसर्च बेसमा काम गरिराख्या छन्, उनीहरूले आफ्नै कम्पनी खोलेर बसेका छन् । उनीहरू अहिले पनि रिसर्च गरिराख्नुभा छ, उहाँहरू उत्पादन पनि गरिराख्नुभा छ र सँगसँगै रिसर्च पनि गरिराख्नुभा छ । रिसर्च बेसमा उत्पादन गरिराख्नुभा छ । त्यसले गर्दाखेरि उनीहरूको रिसर्च पनि काम लागिराख्या छ, उनीहरूको विज्ञता पनि बढिरहेको छ । भने सँगसँगै उनीहरूले आफ्नै उद्योगधन्दा पनि चलाउँदाखेरि त्यो उद्योगधन्दाले उनीहरूलाई इन्कम पनि भइराखेको छ । नेपालमा पनि अब विज्ञहरू नभएको भन्ने होइन, नेपालमा पनि विज्ञहरू हुनुहुन्छ । उनी विज्ञहरूले नै अब भनौँ न त्यस्तो अनुसन्धान केन्द्रहरू बनाएर फार्मिङ आफैँले गरेर रिसर्च बेसमा चाहिँ सरकारले त्यो किसिमको नीति निर्माण गर्दियो भने नेपालमा भएका भनौँ न ठूला कृषि विज्ञहरूलाई कृषि उत्पादनमा चाहिँ जोड्नुपर्छ भन्ने एउटा त्यो पाठ पनि सिक्यौँ जस्तो लाग्छ । त्यो किसिमको चाहिँ सरकारले नीतिहरू बनाउनुपर्छ । त्यसले प्रोफेसर भएर भनौँ न त्यो अनुसन्धानदाता भएर उसले चाहिँ आफ्नो विज्ञता पनि प्रयोग गर्न पायो । र साथसाथै उनीहरूलाई इन्कम जेनेरेसन पनि भयो, उत्पादनमा पनि लाग्यो । त्यसैले यो बेसमा उहाँहरूको काम भइरहेको छ ।

अर्को कोरियाको चाहिँ महत्वपूर्ण कुरा भनेको सरकारको नीति-नियम निकै प्रभावकारी छ । र प्रत्येक व्यक्तिले चाहिँ त्यहाँको नीति-नियमहरूलाई चाहिँ सहर्ष स्वीकार गरेर मान्ने गरिएको छ । अझै भनौँ, फुड सेक्युरिटीमा चाहिँ, खाद्य प्रविधिको खाद्य सुरक्षामा चाहिँ उनीहरू धेरै अगाडि छन् । उनीहरू चाहिँ सरकारले बनाएको रुल्सभन्दा दायाँ-बायाँ केही पनि गर्दैनन् । त्यसैले फुड सेक्युरिटीमा चाहिँ कोरिया विश्वको अरू देशभन्दा चाहिँ अगाडि देखिन्छ, जसले गर्दाखेरि त्यहाँको चाहिँ उत्पादनहरू, त्यहाँको खाद्यान्नहरू, त्यहाँको चाहिँ मालवस्तुहरू चाहिँलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नको लागि सहज भएको छ र कोरियैमा पनि भनौँ न उनीहरूको एउटा राम्रो त्यो टाइपको चाहिँ खाद्य सुरक्षाको हिसाबले पनि राम्रो उत्पादनहरू देखियो ।

यहाँले अब कोरिया भ्रमणको दौरानमा त्यहाँको सार्वजनिक प्रशासन सेवा, त्यहाँको फोहोरमैला व्यवस्थापनका कुरा, त्यहाँको कृषि, खानेपानी जस्ता विभिन्न कुराको अवलोकन गर्नुभयो । र त्यहाँबाट फर्किसकेपछि अब एउटा स्थानीय सरकारको प्रमुखको हैसियतमा आफ्नो पालिकामा चाहिँ के कस्ता सुधार गर्न सकिन्छ भन्ने यहाँले अपेक्षा गरेर चाहिँ फर्किनुभएको छ ?  अब पहिलाको भन्दा केही फरक पाउनुहुन्छ कि जनताले, के छ ?

अब ठ्याक्कै हामीले कोरियाको जो विकास छ, त्यो विकासलाई कपी गरेर हाम्रो स्थानीय सरकारहरूमा, स्थानीय पालिकाहरूमा या हाम्रै क्षेत्रमा लागू गर्न त सम्भव छैन, अहिले तत्कालको लागि। तर हामीले त्यो किसिमको चाहिँ गराउन… जस्तो हामीले सेमाउलबाट के सिक्यौँ भने जनताहरूलाई भनौँ न चाहिँ जनताहरूसँग मिलेर स्थानीय ठाउँको विकास चाहिँ जनताहरूसँग मिलेर सरकारले पूर्वाधारहरू निर्माण गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण चाहिँ कोरियाले प्रस्तुत गरेको छ। किनकि सेमाउलले गरेको… सेमाउलले कोरिया बनाउँदाखेरि सरकारले चाहिँ उनीहरूसँग सहकार्य गरेर सबै कोरिया बनाएको, उहाँहरू चाहिँ के भन्छन् भने कोरिया चाहिँ श्रमदानमा बनेको हो भन्छ के अहिले पनि । जनताहरूले श्रमदानमा चाहिँ कोरिया बनाएको भन्छ । सरकारले प्राविधिक कुराहरू दिने हो, प्राविधिक सल्लाह सरकारले दिने र केही अब भनौँ न तपाईँको मेटेरियलहरू चाहिँ, प्रविधिहरू सरकारले दिने र श्रमदान चाहिँ जनताहरूले गर्ने । त्यो टाइपको मोडलबाट कोरिया विकास भएको पाइन्छ। हामीले त्यो मोडल चाहिँ हामीले पनि हाम्रो गाउँमा लागू गर्न सकिन्छ भन्ने एउटा आत्मविश्वास पैदा भएको छ ।

अर्को कुरा, हामीले जो जनताहरूलाई दिएको सेवा प्रवाह छ, त्यसलाई व्यवस्थित गरेर डिजिटलाइजेसन कसरी गर्न सकिन्छ ? मान्छेले भनौँ न चाहिँ, हाम्रो जस्तो दुर्गम ठाउँमा हिँडेरै अथवा चाहिँ अब भनौँ न फिजिकल्ली सेवा लिनेभन्दा पनि डिजिटलाइजेसनबाट तपाईँको चाहिँ घरमै बसेर सेवा लिन सकिने सम्भावना देखिन्छन् । त्यो सम्भावनालाई हामीले हाम्रो पालिकामा लागू गर्न सकिने सम्भावना देखिएको छ र त्यतातर्फ हामी लाग्छौँ पनि । र यो छोटो कार्यकाल बाँकी छ हाम्रो । यो छोटो कार्यकालमा हामी त्यो कामहरू गर्छौँ, जसले गर्दाखेरि जनताहरूलाई चाहिँ सेवा प्रवाहमा छिटो-छरितो र सजिलो हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्