कञ्चनपुर, फागुन २० गते । कञ्चनपुर जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा एक उम्मेदवारविरुद्ध उजुरी परेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदविरुद्ध मौन अवधि सुरु भएपछि आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै उजुरी दर्ता गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।
समितिका अनुसार साउदले मौन अवधि सुरु भइसकेपछि पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन जनाएको आरोप छ। बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत रास्वपाका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गरिएको थियो।
मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै नेपाली काँग्रेसका नेताहरूले उजुरी दिएको जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार हालसम्म जिल्लामा आचारसंहिता उल्लङ्घनसम्बन्धी पाँच वटा उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरिने समितिले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्