काठमाडौं – ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य र शिक्षासम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजित उक्त कार्यक्रममा विभिन्न बैदेशिक नियोगका प्रतिनिधि, एवनका सदस्य, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, चिकित्सक, अभिभावक तथा डाउन सिन्ड्रोम भएका बालबालिकाको सहभागिता रहेको थियो। अष्ट्रेलियन बेबी हेल्थ केयर ब्राण्ड iVIVI ले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, घरायसी क्रियाकलापमा सहभागिता र जीवन सीप विकासमा जोड दिए ठूलो सकारात्मक परिवर्तन सम्भव हुने बताए । त्यस्तै एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बच्चा जन्मिएका कारण आमाहरूले भोग्नुपरेका सामाजिक पीडाबारे चर्चा गर्दै यस क्षेत्रमा चेतना अभिवृद्धि र सबैको सहभागिता अपरिहार्य रहेको बताइन्। उनले समाजमा फरक क्षमतालाई स्वीकार गरी उनीहरूको क्षमता पहिचान, सम्मान र अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नै अनुभव साझा गर्दै यस्ता बालबालिका र अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिइन् । विश्वमा करिब प्रत्येक ७०० जन्ममध्ये एक बालबालिका डाउन सिन्ड्रोम हुने तथ्य रहेको उल्लेख गर्दै यस क्षेत्रका लागि राज्यस्तरबाट आवश्यक पूर्वाधार विकास र लगानी अपर्याप्त रहेको सरोकारवालाले बताएका छन्। यस अभावका कारण प्रभावित बालबालिका र उनीहरूका परिवार सामाजिक विभेदको सामना गर्न बाध्य रहेको उनीहरूको भनाइ छ । कार्यक्रममा iVIVI Nepal की प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले यस्ता पहलमा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।






प्रतिक्रिया दिनुहोस्