काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटान्सले दिल्ली क्यापिटल्सलाई २ रनले पराजित गरेको छ । अरुण जेट्ली रंगशालामा भएको खेलमा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २०९ रनमा समेटियो ।
जितसँगै गुजरातले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै दुई अंक जोडेको छ । तीन खेल खेलेको गुजरातले एक जित र दुई हार व्यहोरेको छ । गुजरातका लागि राशिद खानले तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई विकेट तथा मोहम्मद सिराज ले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुंगी एनगिडी र कुलदीप यादव ले समान एक–एक विकेट लिए ।
यस हारसँगै दिल्लीले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको दिल्ली तालिकामा बलियो अवस्थामा रहेको छ । आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स बीच खेल हुनेछ । खेल ईडन गार्डनमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।





प्रतिक्रिया दिनुहोस्