दार्चुला — दार्चुलाको गोकुलेश्वरस्थित ईलाका प्रशासन कार्यालय भोलि अर्थात वैशाख २१ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । कार्यालय सञ्चालनसँगै नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए । उनका अनुसार यसअघि जिल्लाको सम्पूर्ण प्रशासनिक सेवा जिल्ला सदरमुकाम खलंगाबाट मात्र सञ्चालन हुँदै आएको थियो । जसका कारण दुर्गम क्षेत्रका स्थानीयवासीले सामान्य सेवाका लागि पनि लामो दूरी तय गर्नुपर्ने, समय र खर्च दुवै व्यहोर्नुपर्ने समस्या झेल्दै आएका थिए ।
अब भने जिल्लाको दोस्रो ठूलो बजारका रूपमा परिचित गोकुलेश्वरबाट पहिलोपटक प्रशासनिक सेवा प्रवाह हुन लागेको हो । ईलाका प्रशासन कार्यालयमार्फत सेवा सुरु भएसँगै त्यस भेगका बासिन्दालाई सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ । उक्त कार्यालयबाट लेकम गाउँपालिका, शैल्यसिखर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका नागरिकहरूले प्रत्यक्ष सेवा लिन जनाएको छ । यसले विशेषगरी ती क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । स्थानीयस्तरमै नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता अत्यावश्यक सेवा उपलब्ध हुँदा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। साथै, यस कदमलाई राज्यको सेवा पहुँच विस्तार गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्