काठमाडौं — आपसी अविश्वास र असमझदारी कायम रहेका बेला अमेरिका र इरानका उच्च अधिकारीबीच आज स्वीटजरल्याण्डमा प्रत्यक्ष वार्ता हुँदैछ। वार्तालाई मध्यपूर्वको पछिल्लो तनाव कम गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलगायत सहभागी हुनेछन् । रोयटर्सका अनुसार जेडी भान्स शनिबार वाशिङ्टनबाट स्वीटजरल्याण्डका लागि प्रस्थान गरेका हुन्। यसअघि उनको भ्रमण अन्तिम समयमा स्थगित भएको चर्चा भए पनि पछि बीबीसी र रोयटर्सले भ्रमण तय कार्यक्रमअनुसार अगाडि बढेको पुष्टि गरेका छन् ।
इरानी प्रतिनिधिमण्डल भने यसअघि नै स्वीटजरल्याण्ड पुगिसकेको बताइएको छ । वार्तामा मुख्य रूपमा आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र लेबनान युद्धविरामसम्बन्धी विषय उठ्ने अपेक्षा गरिएको छ । जेडी भान्सले वार्ताबाट केही सकारात्मक प्रगति हुने आशा व्यक्त गर्दै इजरायल–हेजबुल्लाह तनाव क्रमशः कम हुँदै गएको बताएका छन्। उनले इजरायल र लेबनान दुवै पक्षको सुरक्षा सुनिश्चित गर्नु नै प्राथमिक उद्देश्य रहेको उल्लेख गरेका छन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने आफ्नो देशले सम्झौताअनुसार सबै पक्षले प्रतिबद्धता पूरा गर्नुपर्ने अडान राख्ने बताएका छन् ।
यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने जनाइएको छ। युद्ध अवधिभर पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो । यसअघि अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच वार्ताको एक चरण सम्पन्न भएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीच सहमति नभए होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजमाथि शुल्क लगाउने चेतावनी दिएका छन् । इरानले भने दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि होर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णयको औचित्य पुष्टि गर्दै अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा कार्यान्वयन नभएको आरोप लगाएको छ। उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य गतिविधि अन्त्य गर्ने उल्लेख गरिएको छ । हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा भएको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले जलमार्ग बन्द गर्ने घोषणा गरेको बताइएको छ । तर अमेरिकी सेनाले भने होर्मुज जलडमरूमध्य खुला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्