Skip to content

पाँचपोखरी थाङपालले ल्यायो २० नयाँ कार्यक्रम, निःशुल्क एम्बुलेन्सदेखि डिजिटल पालिका निर्माणसम्म

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन समृद्धि पाँचपोखरीको मुलधन” भन्ने मूल नारासहित सम्पन्न १९औँ गाउँसभा अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/०८४ का लागि २० वटा नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।

गाउँसभापछि अध्यक्ष लामाले अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने गाउँसभा सदस्य, कर्मचारी, प्रमुख सल्लाहकार, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि गाउँपालिकाको समृद्धि, सुशासन, विकास र जनसेवाको अभियानमा निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । गाउँपालिकाले सार्वजनिक गरेको कार्यक्रमअनुसार गाउँपालिका केन्द्र गुन्सा सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे गरिनेछ। यस्तै, साउन महिनादेखि वडा कार्यालय वा स्वास्थ्य चौकीको सिफारिसमा आम नागरिकलाई एकतर्फी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नियमित रूपमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ। साथै कृषि उपज बजारसम्म सहज रूपमा पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा मकैबाट तेल निकाल्ने मेसिन व्यवस्थापन गर्ने योजना अघि सारिएको छ । पर्यटन प्रवर्द्धनका लागि वडा नं. ७ भोटेनाम्लाङमा ८४ फिट बुद्ध मूर्ति र वडा नं. ४ थाङपालकोटमा ५१ फिट अग्लो गुरु रेन्पोर्छे मूर्ति निर्माण कार्य २०८३ मंसिरभित्र सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य राखिएको छ। पाँचपोखरी र आमा याङ्ग्री पदमार्गमा स्थानीय कला–संस्कृति झल्किने आर्ट कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्य तथा सामाजिक सुरक्षाअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च मासिक २ हजार रुपैयाँ पुर्‍याइने भएको छ भने करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने व्यवस्था गरिनेछ। जटिल रोगका बिरामीलाई कार्यपालिकाको निर्णयअनुसार उपचार सहयोग उपलब्ध गराइने पनि गाउँपालिकाले जनाएको छ । त्यस्तै, शिक्षा क्षेत्रमा चार आधारभूत विद्यालयका विद्यार्थीलाई थप दिवा खाजाको व्यवस्था, नमुना युवा सांसद कार्यक्रमलाई निरन्तरता, अर्गानिक उत्पादनको बजारीकरण, चिस्यान केन्द्र स्थापना, डिजिटल तथा स्मार्ट पालिका निर्माण, वृहत् सम्मान कार्यक्रम र खाद्य निरीक्षण केन्द्रलाई प्रभावकारी बनाउने कार्यक्रमसमेत समावेश गरिएको छ । अध्यक्ष लामाले यी कार्यक्रममार्फत गाउँपालिकालाई विकास, सुशासन र सेवा प्रवाहमा नयाँ चरणमा लैजाने लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्