जनकपुरधाम – मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड भएको छ। बुधबार बिहान मन्त्री भट्टराई प्रयोग गर्ने ज १ झ ४४१ नम्बरको गाडी मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरिएका बेला घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बिहान करिब ११ बजेतिर अज्ञात व्यक्तिले गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भूइँमा फालेका थिए । प्रहरीले उपलब्ध सीसीटीभी फुटेजको आधारमा एक व्यक्ति स्कारपिओ गाडीमा आएर केही समय मन्त्रीको गाडी वरिपरि घुमेको, त्यसपछि झण्डा तोडफोड गरेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसरभित्र प्रवेश गरेको जनाएको छ। फुटेजमा ती व्यक्ति करिब ४–५ मिनेटसम्म परिसरमा देखिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा योजनाबद्ध उद्देश्य हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि, यसबारे औपचारिक निष्कर्ष भने आइसकेको छैन । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मधेश भवन परिसरमा पुगेर ३–४ घण्टासम्म अनुसन्धान गरेको थियो। तर परिसर बाहिरका केही सीसीटीभी क्यामेरा बिग्रिएका कारण शंकास्पद व्यक्ति चढेर आएको गाडीको नम्बर पहिचान गर्न कठिन भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान र खोजी कार्य जारी रहेको तथा संलग्न व्यक्तिलाई चाँडै नियन्त्रणमा लिन प्रयास भइरहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्