भक्तपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), भक्तपुरको आयोजना र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा शनिबार एक दिवसीय शिक्षक प्रशिक्षण भव्य रूपमा सम्पन्न भएको छ। जगातीस्थित ‘होटल भ्यु भक्तपुर’ मा आयोजना गरिएको उक्त तालिम प्राथमिक तहका विद्यार्थीहरूको निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा केन्द्रित रहेको थियो। “Continuous Assessment (Focused on Grade 1-5 Assessment)” विषयक उक्त तालिम काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को समन्वयमा संचालित उक्त प्रशिक्षणमा नेसनल प्याब्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरूका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने २७४ जना शिक्षकहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कक्षा १-५ मा परीक्षाबिना कसरी गर्ने मूल्याङ्कन ?
तालिमको मुख्य जोड कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई परम्परागत कागज-पेन्सिल परीक्षाको डर र दबाबबाट मुक्त राख्दै उनीहरूको वास्तविक सिकाइ स्तर कसरी मापन गर्ने भन्ने विषयमा रहेको थियो। तालिममा सहजकर्ताहरूले परीक्षा नलिनु भनेको मूल्याङ्कन नगर्नु वा विद्यार्थीलाई त्यसै छोड्नु नभएको प्रष्ट पार्नुभयो। सहभागी शिक्षकहरूलाई कक्षाकोठाभित्र र बाहिर नियमित रूपमा प्रयोग गर्न सकिने विभिन्न परीक्षाविहीन मूल्याङ्कनका साधन र प्रविधिहरूका बारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो, जस्तै: निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS): शिक्षण सिकाइकै क्रममा विद्यार्थीको ध्यान, सहभागिता र सुधारको नियमित अभिलेख राख्ने। परियोजना कार्य (Project Work) र प्रयोगात्मक कार्य: सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने खालका साना कार्यहरू दिएर मूल्याङ्कन गर्ने । पोर्टफोलियो (Portfolio) व्यवस्थापन:विद्यार्थीले वर्षभरि गरेका उत्कृष्ट कार्य, चित्रकला, लेखन आदिको सङ्ग्रह (फाइल) हेरेर उसको क्रमिक विकासको मूल्याङ्कन गर्ने। अवलोकन र सहपाठी मूल्याङ्कन: सामूहिक कार्य (Group Work) मा विद्यार्थीको व्यवहार, नेतृत्व क्षमता र सञ्चार कलाको मूल्याङ्कन गर्ने । दक्ष प्रशिक्षकहरूद्वारा सहजीकरण तालिमलाई परिणाममुखी बनाउन काठमाडौँ विश्वविद्यालयका विज्ञ प्रशिक्षकहरू ईन्द्र मणि दाहाल, समीक्षा हाडा, डा. रुपा मुनकर्मी र सरिता खड्काले विभिन्न सत्रहरूमा सहजीकरण गरेका थिए । उनीहरूले बालमनोविज्ञान सुहाउँदो आधुनिक मूल्याङ्कन पद्धतिलाई कक्षाकोठामा सहजै कसरी लागू गर्न सकिन्छ भन्ने व्यावहारिक उपायहरू सिकाएका थिए ।
नेतृत्वको भनाइमा कार्यक्रमका बारेमा जानकारी दिँदै नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले भने, “प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ क्षमतालाई परम्परागत वार्षिक वा त्रैमासिक परीक्षाको अङ्कले मात्र न्याय गर्न सक्दैन। परीक्षा नै नलिनु तर विद्यार्थीको क्षमताको अझ वास्तविक मूल्याङ्कन कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरूलाई अभ्यस्त गराउन यो तालिम कोसेढुङ्गा सावित भएको छ।” कार्यक्रम संयोजक रमेश प्रसाद सिटौलाका अनुसार, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका सहायक डिन प्रा. डा. सेष कान्त पगेंनीको समेत विशेष उपस्थिति रहेको यस कार्यक्रमले सहभागी शिक्षकहरूमा नयाँ ऊर्जा थपेको छ । तालिम समापनसँगै सहभागी शिक्षकहरूलाई प्रतिबद्धता र पेसागत दक्षताको कदरस्वरूप प्रमाणपत्र समेत वितरण गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्