काठमाडौँ – नेपाल शिक्षक संघ अछामका अध्यक्ष नवीन्द्रराज जोशीको रुखबाट खसेर मृत्यु भएको छ। साँफेबगर– १ निवासी जोशीको आँपको रुखबाट खसेर मृत्यु भएको हो । उनी मष्टामाण्डौ आधारभूत विद्यालय चौरपाटी– ४ पायलको प्रधानाध्यापकका रूपमा कार्यरत थिए । आइतबार आँप टिप्न रुखमा चढेका वेला खसेर घाइते भएका जोशीलाई उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइएका जोशीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
उनका अनुसार ६० वर्षीय जोशीको बाहिरीभन्दा पनि आन्तरिक चोटका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृतक जोशीको शव जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । शैक्षिक क्षेत्रको विकासका लागि लामो समय संघर्ष गरेका जोशीको निधनले जिल्लाको शैक्षिक क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै जिल्लास्थित सरोकारवालाहरूले दुःख व्यक्त गरेका छन् । सोमबार बिहान जिल्ला अस्पताल मंगलसेन पुगेर यहाँका विभिन्न सरोकारवालाहरूले मृतक जोशीको पार्थिव शरीरमा फूल, अबिरसहित अन्तिम श्रद्धाञ्जली दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्