काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएका हुन् । वार्तामा पश्चिम एशियाको पछिल्लो अवस्थादेखि द्विपक्षीय सम्बन्ध र क्षेत्रीय शान्तिसम्मका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताबारे जानकारी दिँदै पश्चिम एशियामा हालै भएका घटनाक्रमबारे राष्ट्रपति पेजेश्कियानसँग कुराकानी भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘पश्चिम एशियामा हालै भएका घटनाक्रमबारे इरानका राष्ट्रपति डा. मसुद पेजेश्कियानसँग कुराकानी भयो । वार्ताका क्रममा भएको प्रगतिलाई स्वागत गर्दै निरन्तर प्रयासमार्फत यस क्षेत्रमा स्थायी शान्ति स्थापना हुने अपेक्षा व्यक्त गरियो ।’
प्रधानमन्त्री मोदीले भारत तथा विश्वका लागि स्ट्रेट अफ होर्मुजमा निर्बाध आवतजावतको स्वतन्त्रताको महत्त्व पुनः दोहोर्याएको पनि बताएका छन् । उता, भारतस्थित इरानी दूतावासले पनि वार्ताको पुष्टि गरेकाे छ । दूतावासले एक्समा गरेको पोस्टअनुसार राष्ट्रपति मसुद पेजेश्कियानले मंगलबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका थिए । दूतावासका अनुसार राष्ट्रपति पेजेश्कियानले भारतमा सम्पन्न ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकको सफल आयोजनाको प्रशंसा गर्दै ब्रिक्सजस्ता बहुपक्षीय मञ्चहरूमा इरान र भारतबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
पेजेश्कियानले इरान–भारत सम्बन्ध लामो ऐतिहासिक सम्बन्ध र आपसी सम्मानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक, आर्थिक, व्यापार, पारवहन (ट्रान्जिट) तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताएका छन् । उनले उपलब्ध क्षमताको पूर्ण उपयोग गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि अझ प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । उनले इरान र भारतबीच धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा रहेको उल्लेख गर्दै यसले रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । इरानी दूतावासका अनुसार वार्ताका क्रममा राष्ट्रपति पेजेश्कियानले युद्धविराम तथा द्वन्द्व अन्त्यका लागि भएको सम्झौताबारे पनि चर्चा गरेका थिए । उनले भने, ‘इरान आफ्ना सबै दायित्व पूरा गर्न प्रतिबद्ध छ र अर्को पक्षले पनि सम्झौताका सर्तहरू इमान्दारी र जिम्मेवारीका साथ पालना गर्ने अपेक्षा गर्दछ, ताकि यस क्षेत्रमा दीर्घकालीन शान्ति, स्थायित्व र सुरक्षा सुनिश्चित गर्न सकियोस् ।’



प्रतिक्रिया दिनुहोस्