Skip to content

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गराएको छ । मुख्यमन्त्री शाहले बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको जनाएको छ । प्रहरीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै ५०० रुपैयाँ जरिवाना बुझाएका हुन्। ट्राफिक प्रहरीले कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

मुख्यमन्त्रीले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि प्रहरीले कानुनअनुसार कारबाही गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक पाँच सय रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र त्यसपछि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । मुख्यमन्त्री शाहले पहिलो पटक हेलमेट नलगाइ मोटरसाइकल चलाएकाले पाँच सय रुपैयाँ जरिवान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्