काठमाडौँ – २१३औँ भानु जयन्तीको अवसरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका सुवम श्रेष्ठ प्रथम, रिलायन्स इन्टरनेशनल एकेडेमीकी आल्यान खड्का द्वितीय, रिपुमर्दिनी स्कुलकी चाँदनी कडरिया तृतीय तथा डियर वाक स्कुलका आर्यन राई सान्त्वना स्थान हासिल गर्न सफल भए। विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा समाजसेवी, कवि तथा नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थमन्त्री शंकर प्रसाद (एसपी) कोइरालालाई नेपाली भाषा तथा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित कोइरालासहित विशिष्ट साहित्यकार प्रा.डा. व्रतराज आचार्य र भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्यालले नेपाली भाषा, साहित्य र आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गर्दै विद्यार्थीलाई सिर्जनशीलता र असल कर्ममा लाग्न प्रेरित गरेका थिए ।कार्यक्रममा साहित्यकारहरूले रचना वाचन गरेका थिए भने एपेक्स लाइफ स्कुलका विद्यार्थीले रामायण नाटिका पनि प्रस्तुत गरेका थिए । विद्यालयले प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्