नेपालको राजनीतिक इतिहास सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास हो। हरेक पुस्ताले कुनै न कुनै व्यवस्था परिवर्तनको आन्दोलन देखेको छ। कहिले राणाशाहीविरुद्ध, कहिले पञ्चायतविरुद्ध, त कहिले राजतन्त्रविरुद्ध । हरेक आन्दोलनमा सडकमा उत्रिने अनुहार जनताकै थिए, र हरेक परिवर्तनपछि सिंहदरबारमा पुग्ने अनुहार भने फेरिइरहे। तर एउटा प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ- के परिवर्तनले जनताको जीवन बदल्यो, कि केवल सत्ताको अनुहार मात्रै फेरियो ?
पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली जनताले लामो सङ्घर्ष गरे । २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र स्थापना गरायो। त्यस बेला लोकतन्त्र आएपछि देश समृद्धि र सुशासनतर्फ अघि बढ्ने अपेक्षा गरिएको थियो। तर राजनीतिक अस्थिरता, सरकारहरूको बारम्बार परिवर्तन र दलहरूबीचको शक्ति संघर्षले ती अपेक्षाहरू क्रमशः कमजोर बनाउँदै लगे ।
त्यसपछि देश फेरि अर्को ऐतिहासिक मोडमा पुग्यो। दशक लामो सशस्त्र द्वन्द्व, जनआन्दोलन-२ र व्यापक जनदबाबपछि २०६३ सालमा निरङ्कुश राजतन्त्र झुक्न बाध्य भयो। त्यसको दुई वर्षपछि, २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यो दिन नेपाली इतिहासको एउटा युग समाप्त भयो र अर्को युगको सुरुवात भयो । गणतन्त्रसँगै जनताले नयाँ नेपालको सपना देखे। राजनीतिक स्थायित्व आउने, विकासले गति लिने, रोजगारी बढ्ने, भ्रष्टाचार घट्ने र राज्य जनउत्तरदायी बन्ने विश्वास गरिएको थियो। तर करिब दुई दशकपछि पनि धेरै नेपालीले आफूले खोजेको परिवर्तन अनुभूति गर्न सकेका छैनन् ।
संविधान बन्यो, संघीयता कार्यान्वयनमा आयो, तीन तहका सरकार बने। तर नागरिकले दैनिक जीवनमा भोग्ने समस्या भने धेरै हदसम्म उस्तै छन् । सरकारी कार्यालयमा सेवाग्राहीले झन्झट बेहोर्नुपर्छ, विकास आयोजना वर्षौँसम्म अधुरा रहन्छन्, भ्रष्टाचारका काण्ड दोहोरिन्छन्, युवाहरू रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्। गाउँ रित्तिँदै गएका छन् भने सहरमा अवसर सीमित छ । आजको पुस्ताले व्यवस्था परिवर्तनभन्दा पनि शासनको गुणस्तरमाथि प्रश्न उठाउन थालेको छ । किनकि लोकतन्त्रको मूल्य केवल निर्वाचनमा सीमित हुँदैन। लोकतन्त्रको वास्तविक अर्थ नागरिकले न्याय पाउनु, राज्यबाट समान अवसर पाउनु र सरकारप्रति विश्वास गर्न सक्नु हो। जब यी आधारभूत अपेक्षाहरू पूरा हुँदैनन्, तब व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्छ ।
संविधान बन्यो, संघीयता कार्यान्वयनमा आयो, तीन तहका सरकार बने। तर नागरिकले दैनिक जीवनमा भोग्ने समस्या भने धेरै हदसम्म उस्तै छन् । यही कारणले पछिल्ला वर्षहरूमा राजतन्त्र पुनः स्थापनाको बहस समय–समयमा सतहमा देखिन्छ। सामाजिक सञ्जालदेखि सडकसम्म त्यसका पक्ष र विपक्षमा आवाज उठिरहेका छन्। केहीले अहिलेको राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानो व्यवस्थाको पक्षमा तर्क गर्छन् भने अर्कोतर्फ धेरैले समस्या व्यवस्थामा नभई त्यसलाई सञ्चालन गर्ने नेतृत्व र राजनीतिक संस्कृतिमा रहेको बताउँछन् ।
इतिहासले पनि यही शिक्षा दिएको छ। कुनै पनि व्यवस्था आफैँ सफल वा असफल हुँदैन। त्यसलाई सफल बनाउने सुशासन, पारदर्शिता, कानुनी शासन र जबाफदेहिता हो । पञ्चायतका अन्तिम वर्षहरूमा पनि जनताले यही खोजेका थिए। लोकतन्त्र आएपछि पनि त्यही अपेक्षा थियो। गणतन्त्रमा पनि जनताको माग फेरिएको छैन- उनीहरूलाई इमानदार नेतृत्व, प्रभावकारी सेवा र न्यायपूर्ण शासन चाहिएको छ । आजको चुनौती व्यवस्था जोगाउनेभन्दा ठूलो जनविश्वास जोगाउने हो। किनकि कुनै पनि राजनीतिक प्रणाली जनताको विश्वासमा टिकेको हुन्छ। त्यो विश्वास कमजोर भयो भने असन्तुष्टि बढ्छ, वैकल्पिक व्यवस्थाको खोजी सुरु हुन्छ र लोकतान्त्रिक उपलब्धिहरूमाथि नै प्रश्न उठ्न थाल्छ ।
अब फेरि अर्को व्यवस्था खोज्नेभन्दा पनि अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ
नेपालले सात दशकमा धेरै राजनीतिक प्रयोग गरिसकेको छ। राणा शासनदेखि पञ्चायत, बहुदलीय व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म देश आइपुगेको छ। अब फेरि अर्को व्यवस्था खोज्नेभन्दा पनि अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ। परिवर्तनको मूल्य आन्दोलनले होइन, त्यसपछि जनताको जीवनमा आएको सुधारले मापन हुन्छ । यदि भ्रष्टाचार, दण्डहीनता, सत्ता केन्द्रित राजनीति र कमजोर शासन प्रणाली यथावत् रहने हो भने व्यवस्था फेरिए पनि जनताको निराशा फेरिने छैन। तर यदि सुशासन, पारदर्शिता, विकास र जबाफदेहितालाई व्यवहारमा उतार्न सकियो भने यही गणतन्त्र जनताको सबैभन्दा ठूलो उपलब्धि बन्न सक्छ । अन्ततः इतिहासले एउटा स्पष्ट सन्देश दिन्छ-नेपालमा समस्या केवल व्यवस्था परिवर्तनको होइन, शासन संस्कृतिको हो। व्यवस्था बदल्न जनताले पटक–पटक बलिदान दिए। अब त्यो बलिदानको सम्मान गर्ने जिम्मेवारी नेतृत्वको हो। किनकि जनताले अब अर्को आन्दोलनभन्दा बढी परिणाम खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्