Skip to content

आखिर बदलिएको के हो ? समय, परिस्थिति कि सोच ?

– यशोदा मिश्र
हिजो अटल लागेका विश्वासहरू
आज प्रश्न बनेर उभिएका छन्,
मनले सत्य मानेका सम्बन्धहरू
आज आफ्नै अर्थ खोजिरहेका छन्।
आफ्नो पनको खोल भित्र
आफ्ना  बनेर
मनमा बसेकाहरु
आज उसैको व्यवहारभित्र
अपरिचितपन भेट्नुपरेको छ ।
आखिर बदलिएको के हो ?
समय, परिस्थिति कि सोच ?
कि बदलिएको मनले नै
पुरानै अनुहारमा
नयाँ आवरण ओढेको हो ?
बदलिनु त प्रकृतिको नियम हो,
ऋतु फेरिन्छन्, रङ फेरिन्छन्,
नदीले आफ्नो बाटो फेर्छ,
आकाशले रूप बदल्छ;
तर मान्छे बदलिनु र
बदलिएको अभिनय गर्नुबीच
एउटा गहिरो अन्तर हुन्छ ।
पहिलो परिवर्तन समयले ल्याउन सक्छ,
दोस्रो  नियतले लुकाउँछ
ओठमा उही आत्मीयता,
शब्दमा उही मिठास,
तर व्यवहारबाट हराउँदै गएको अपनत्व
सायद परिवर्तनको
सबैभन्दा मौन रूप यही हो।
कसलाई दोष दिने
समयलाई कि परिस्थितिलाई?
कति हिस्सा बाध्यताको,
कति स्वार्थको,
कति आफ्नै इच्छाको
यी प्रश्नहरूको उत्तर
हरेक सम्बन्धले
आफ्नै छातीभित्र बोकेर हिँड्छ।
खैर समयले
कसैलाई बदल्दैन होला,
सायद उसले केवल
बदलिन खोजिरहेको मनलाई
आफ्नो वास्तविक रूप देखाउने
एउटा अवसर दिइरहन्छ।
लाग्छ
अनुहार उही रहँदैमा
मान्छे उही रहँदैन,
शब्द उस्तै सुनिँदैमा
भावना उस्तै हुँदैनन्।
र त
 समयको सबैभन्दा कठोर सत्य यही हो
उसले कसैलाई अपरिचित बनाउँदैन,
केवल बिस्तारै
चिनेको मान्छेको आवरण हटाउँदै
भित्र लुकेको सत्य देखाइदिन्छ
त्यसपछि बाँकी रहन्छ
टुटेको विश्वासको मौनता,
आँखामा अडिएको अन्तिम प्रश्न,
र आफूलाई सम्हाल्दै गरिएको
 एउटा निर्णय
अब कसैको बदलिएको अनुहार होइन,
आफ्नो अडिग आत्मालाई विश्वास गर्ने।

प्रतिक्रिया दिनुहोस्