Skip to content

एमाले शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौँ – नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको विषयलाई लिएर विवाद चुलिँदै गएपछि अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन् । पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेल लगायतका शीर्ष नेताहरूबीच छलफल हुने र सोही छलफलबाट नै मुख्यमन्त्रीको पद निरन्तर रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने नेताहरूको भनाइ छ ।

​अध्यक्ष ओली कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा रहे पनि मुख्यमन्त्री कार्की भने लगातारको दबाबका बाबजुद राजीनामा नदिने अडानमा दृढ देखिएका छन् । उनले व्यक्तिगत आदेशभन्दा पार्टीको संस्थागत निर्णय मात्र मान्ने भन्दै आएका छन् । ​सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित संसदीय दल र प्रदेश नेतृत्वको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले ओलीबाट आफूलाई पद छाड्ने कुनै प्रत्यक्ष निर्देशन नआएको दाबी गरेका थिए । उनले आफू संसदीय दलको नेताका रूपमा नभई प्रदेश सभाको बहुमत विश्वासका आधारमा सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेकाले यो सरकार आफ्नै संवैधानिक दायराभित्र रहेर अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्