काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ। प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
सेनाका अनुसार बिहीबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरिएको छ। बिहीबार बिहान मैलुङस्थित टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। हेलिकोप्टरबाहेक जमिनबाट थप ६३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । नुवाकोटदेखि चितवनसम्म बाढीबाट प्रभावित क्षेत्रमा २ हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। उनीहरू खोज तथा उद्धारसँगै राहत वितरणमा समेत खटिएका छन्।
गएराति मात्रै नेपाली सेनाका ११ वटा टोलीले जमिनबाट उद्धार कार्य गरेको थियो। प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउन सेनाका ११ वटा ट्रक परिचालन गरिएको छ । हालसम्म राहत सामग्री बोकेका चार सटल टिमुरे पुगिसकेको सेनाले जानकारी दिएको छ।
त्यस्तै, नेपाली सेनाको मेडिकल टोली थप परिचालन गरी त्रिशूली क्षेत्रमा बाढीका कारण घाइते भएकाहरूको उपचारसमेत भइरहेको सेनाले जनाएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरण कार्यलाई तीव्रता दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्