काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।नाडाले तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो । नाडाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सरकारसँगै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नाडाले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भएर अघि बढ्न आह्वानसमेत गरेको छ । सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले विपद्पछि देखाएको तत्परता र अथक प्रयासप्रति नाडाले आभार व्यक्त गरेको छ। सरकारले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्धार तथा राहत कार्य अघि बढाएको भन्दै नाडाले सरकारको पहलको प्रशंसा गरेको हो । यसैबीच, बाढीको विपद् भृकुटीमण्डपमा नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भन्दै नाडाले अटो शो भने निरन्तर सञ्चालनमा रहने जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेको भन्दै नाडाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्