काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीलाई राष्ट्रिय समस्याका रूपमा लिएर राज्य र जनता मिलेर उद्धार तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताएका छन् । आइतबार एमाले महासचिव शंकर पोखरेलले रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने कार्यक्रममा बोल्दै ओलीले सरकारको एकल प्रयासबाट मात्रै विपद्को सामना गर्न नसकिने बताए । उनले विपद्का बेला राजनीतिक श्रेय लिन खोज्नुको सट्टा सबै पक्ष मिलेर साझा समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
“राज्य र जनता मिलेर यो साझा समस्याको समाधान गर्नेतर्फ प्रयासरत नहुने हो भने श्रेय लिन खोज्नेहरू नै डुब्ने कुरा हो । यो श्रेय पाउने सम्भावना छैन,” ओलीले भने, “एकल प्रयासबाट, रहरले सफलता पाउने विषय होइन ।” ओलीले रसुवा बाढीलाई राष्ट्रिय समस्याका रूपमा बुझ्न सरकारलाई आग्रह गर्दै आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सुझाव दिए । “अझै पनि सरकारले आफ्नो दृष्टिकोण सपारोस्, भूमिका सपारोस् । राजनीतिक विषय नबनाओस् । राष्ट्रिय समस्याका रूपमा बुझोस् । साझा समाधान गर्नुपर्छ भन्ने बुझोस्,” उनले भने ।
बाढी प्रभावित क्षेत्र वाग्मती प्रदेशमै पर्ने भएकाले त्यसको गहिराइ र मर्म बुझ्न सहज भएको उल्लेख गर्दै ओलीले केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै राजनीतिक दल तथा विभिन्न संस्थाहरू मिलेर विपद्को सामना गर्नुपर्ने बताए । “यसको गहिराइ, मर्म बुझ्न सजिलो छ । केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर, राजनीतिक दल, अन्य संस्था मिलेर यसको सामना गर्नुपर्छ,” ओलीले भने । उनले राजनीतिक दलहरूले विपद्लाई राजनीतिक विषय नबनाउने भने पनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे । बाढीपछि उद्धार तथा खोजी कार्यमा दक्षता हासिल गरेका संस्थाहरूलाई परिचालन गर्न र आवश्यक परे हेलिकोप्टर भाडामा लिएर उद्धार गर्नसमेत नदिइएको ओलीको दाबी छ । आफ्नै प्रयासमा उद्धार तथा पुनर्निर्माणको काम अघि बढाएको भन्दै ओलीले वाग्मती प्रदेश सरकारलाई धन्यवाद दिए ।
सरकारले सर्वदलीय बैठकसमेत नबोलाएको आरोप लगाउँदै उनले राष्ट्रिय विपद्का बेला सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । “सरकारले त केही पनि गरेन । सर्वदलीय बैठक पनि गरेन । रास्वपाले गर्यो भन्ने सञ्चारमाध्यमबाट सुनेँ । रुलिङ पार्टी भएकाले गर्नुपथ्र्यो । वाग्मती सरकारले सर्वदलीय बैठक गर्यो,” ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्