नेतान्याहुलाई विपक्षीको चुनौती
यसपटक नेतान्याहुलाई पूर्वसैनिक प्रमुख गादी आइजेनकोटले आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’मार्फत चुनौती दिएका छन् । गाजामा युद्ध जारी रहेका बेला उनले आफ्ना छोरा गुमाएका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् । पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यान पनि नेतान्याहुका प्रमुख आलोचकका रूपमा देखिएका छन् । उनको ‘इजरायल अवर होम’ पार्टीलाई पूर्वसोभियत संघबाट इजरायल आएका आप्रवासी समुदायको उल्लेख्य समर्थन रहेको छ ।
दक्षिणपन्थीको साथ नेतान्याहुलाई
नेतान्याहुलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरजस्ता दक्षिणपन्थी नेताहरूको समर्थन छ । प्यालेस्टिनीहरूप्रति कठोर नीति र पश्चिम किनारमा इजरायली बस्ती विस्तारको समर्थनका कारण उनीहरू अन्तर्राष्ट्रिय आलोचनामा पर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेतान्याहुलाई समर्थन गर्दै आएका छन् । तर निर्वाचनमा उनको गठबन्धनले कति सिट प्राप्त गर्छ र विपक्षी दलहरूबीच कस्तो सहकार्य हुन्छ भन्ने विषयले सरकार गठनको सम्भावना निर्धारण गर्नेछ ।
सरकार गठनका लागि ६१ सिट आवश्यक
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । इजरायलको निर्वाचन प्रणालीअनुसार मतदाताले उम्मेदवारभन्दा राजनीतिक दललाई मत दिन्छन् र दलहरूले प्राप्त गरेको मतको अनुपातका आधारमा संसद्मा सिट बाँडफाँट हुन्छ । कुनै एक दलले स्पष्ट बहुमत प्राप्त नगरेमा सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन आवश्यक हुन्छ । त्यसैले सबैभन्दा बढी मत प्राप्त गर्ने दल मात्रै नभई गठबन्धन बनाउन सक्ने दलहरूको संख्या पनि निर्णायक हुनेछ । निर्वाचनको परिणामले नेतान्याहुको राजनीतिक भविष्यसँगै इजरायलको आगामी सरकारको दिशा र प्यालेस्टाइनसँगको द्वन्द्वसम्बन्धी नीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्