Skip to content

‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पनि, बिहीबार रातिदेखि भारी वर्षाको चेतावनी, लाखौं मानिस प्रभावित हुन सक्ने

काठमाडौं – बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा बिहीबार रातिदेखि भारी वर्षा हुने सम्भावना देखिएको छ। दसैंपछि घर फर्किने तथा यात्रा गर्नेहरू प्रभावित हुन सक्ने भएकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभाव बुधबारदेखि नै नेपालमा देखिन थाल्नेछ। यसको प्रभावले मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना छ। बिहीबार, शुक्रबार र शनिबारसम्म वर्षाको प्रभाव रहन सक्ने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बंगालको खाडीबाट आउने मौसमी प्रणाली, पश्चिमी वायु र वायुमण्डलमा आउने पर्याप्त आर्द्रताका कारण नेपालमा भारी वर्षाको सम्भावना बढेको हो।

उनका अनुसार मध्यपहाडी क्षेत्रमा शुक्रबार ११० देखि १४५ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखिएको छ। लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीबाहेक अन्य प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने उनको आकलन छ। काठमाडौंमा समेत वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पनि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत भएकाले नेपालमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशमा यसको प्रभाव देखिन सक्छ।

बाढीपहिरो र हिमपातको जोखिम

लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढीपहिरोको जोखिम बढाउन सक्ने मौसमविद्हरूले बताएका छन्। दसैंअघि नै आकस्मिक बाढीको जोखिममा परेको मनाङलगायतका हिमाली जिल्लामा विशेष सतर्कता आवश्यक रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले मौसमको अवस्था नबुझी हिमाल आरोहण तथा जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ। सडकमार्गबाट यात्रा गर्नेहरूले पनि मौसम पूर्वानुमान र सम्बन्धित निकायका सूचनालाई ध्यान दिनुपर्नेछ। धान भित्र्याउने समय भएकाले किसानलाई वर्षा सुरु हुनुअघि नै पाकेको धान सुरक्षित रूपमा भित्र्याउन मौसमविद्हरूले सुझाव दिएका छन्।

भारतमा लाखौं मानिस प्रभावित हुन सक्ने

चक्रवात ‘अर्णव’ भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसले भारतका विभिन्न क्षेत्रमा समेत अत्यधिक वर्षा र तीव्र हावाहुरी निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान संस्था एक्युवेदरका मौसमविद् जेसन निकोल्सले चक्रवात अत्यन्त घातक बन्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार भारतका विभिन्न क्षेत्रमा भारी वर्षा हुने र यसको प्रभाव नेपालसम्म पर्न सक्नेछ। भारतको आन्ध्र प्रदेशमा विपद् व्यवस्थापन निकायका अनुसार जोखिममा रहेका करिब ५ लाख ७० हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। ओडिशामा पनि विद्यालय तथा कलेज बन्द गर्ने तयारी गरिएको छ। तटीय क्षेत्रमा प्रतिघण्टा ११५ देखि १४० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमानसँगै बाढीको जोखिम बढेको छ। मौसमविद्हरूले चक्रवातको दिशा र तीव्रतामा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो मौसम पूर्वानुमान नियमित रूपमा हेर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्