काठमाडौं – नेपाली कांग्रेसले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति आपत्ति जनाएको छ। महामन्त्री प्रदीप पौडेलले आनीको नियुक्तिलाई लिएर उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकार नागरिकमाथि धरपकडमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्। लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड! त्यो पनि मध्यरातमै! अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रवैयाको समर्थन गर्न सकिँदैन।’ सरकारी नियुक्तिमा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जबाफदेहिता पनि हेर्नुपर्ने बताए।
उनले भनेका छन्, ‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो। यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त हुँदैन।’ आनीको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको बताए। ‘ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ’ उनले भनेका छन्, ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’


प्रतिक्रिया दिनुहोस्