काठमाडौं – श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले वर्तमान सरकार वास्तविक उपलब्धि र परिणाम दिनुभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालको लोकप्रियता र त्यसका अल्गोरिदमका आधारमा सरकारको कामको मूल्यांकन गर्न नहुने भन्दै परिणाममुखी भएर काम गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि टिप्पणी गर्दै राईले सरकारको कामको मूल्यांकन वास्तविक उपलब्धिका आधारमा हुनुपर्ने बताएका हुन्। उनले सरकारले प्रचारभन्दा जनताले अनुभूति गर्ने परिणाम दिनुपर्नेमा जोड दिए। राईले छिमेकी मुलुकसँगको सम्बन्ध र नेपालको राष्ट्रिय स्वाधीनताका विषयमा समेत प्रश्न उठाए। कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था आउनु दुःखद् भएको उनको भनाइ थियो। नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उल्लेख गर्दै उनले मैत्रीपूर्ण सम्बन्धको नाममा राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्न नहुने स्पष्ट पारे।
प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले उक्त अभिव्यक्ति सच्याउन माग गरे। सीमा विवादजस्ता संवेदनशील विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने उनको भनाइ थियो। राष्ट्रियता र देश निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए। त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै उनले त्यस विषयमा संसद्मा प्रश्न उठाउने बताएका छन्। राष्ट्रियताको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध गर्नु नभएको स्पष्ट पार्दै उनले नेपालको राष्ट्रिय हित र सार्वभौमिकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
राईले सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरेर फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। उनले युवाहरूलाई कुनै पनि राजनीतिक दलप्रति अन्धभक्त नबन्न र देशको सार्वभौमिकता तथा राष्ट्रिय हितका विषयमा सचेत रहन आग्रह गरे। ‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ। मैले बर्खे अधिवेशनको अन्तिम दिन पनि सदनमा भनेको थिएँ, सरकारले गरेका कामको मूल्यांकन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन्। त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु,’ राईले भने। उनले थपे, ‘कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो? हामी कुनै पनि राष्ट्रको विरुद्धमा छैनौँ। पञ्चशीलको सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस्