काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने जनाएको छ। मंगलबार साँझ जारी गरिएको पूर्वानुमान बुलेटिनअनुसार फागुन २१ गते दिउँसो देशका अधिकांश भू–भागमा मौसम सफा रहनेछ। तर, तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। उक्त दिन कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
हाल उच्च चापीय प्रणालीको प्रभाव
हाल नेपालमा उपल्लो वायुमण्डलमा विकसित उच्च चापीय प्रणालीको प्रभाव रहेको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने अन्य भू–भागमा तुँवालो लागेको छ।
मंगलबार राति तराईका थोरै स्थानमा तुँवालो रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बुधबार बिहान तराईका केही स्थानमा हुस्सु लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्