Skip to content

रसुवा बाढी : उद्धारमा कुनै कसर बाँकी नराख्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं – तिब्बततर्फबाट फुटेको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा गम्भीर क्षति भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिँदै आईजीपी कार्कीले विपद्को कठिन अवस्थामा उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । उनले राज्यलाई संकट परेको अवस्थामा प्रहरी कर्मचारीले थप सक्रिय भएर काम गर्नुपर्ने बताएका छन् । हाल बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन भएका छन्। ३९ वटा हेलिकप्टरमार्फत विकट क्षेत्रबाट खोज तथा उद्धार जारी रहेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान १० बजेसम्म बाढीबाट १७७ जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा धेरै ६९, धादिङमा २७, गोरखामा २०, नवलपरासी पूर्वमा ३२, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ६ र रसुवामा २ जनाको शव फेला परेको जनाइएको छ ।

रसुवामा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। नेपाली सेना र सशस्त्र प्रहरीतर्फ पनि क्रमशः ४४ र १३ जना सम्पर्कमा नरहेको विवरण सार्वजनिक भएको छ । बाढीबाट ५६९ जना पर्यटक प्रभावित भएका छन्। धुन्चेबाट हेलिकप्टरमार्फत ११३ जनाको उद्धार गरिएको छ। बाढीले सडक, पुल, जलविद्युत्, सञ्चार तथा खानेपानीका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । यसैबीच भारत सरकारले बाढीपीडितका लागि थप ३७.५ टन राहत सामग्री, औषधि तथा खाद्यान्न नेपाल पठाएको छ। यसअघि भारतबाट १० टन राहत सामग्री नेपाल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्