Skip to content

‘लोक दोहोरी च्याम्पियन’ इमेज टेलिभिजनमा प्रसारण सुरु

काठमाडौं – रगोन स्टुडियो प्रालिको ब्यानरमा निर्माण भइरहेको चर्चित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ इमेज टेलिभिजनबाट प्रसारण सुरु भएको छ । असोज १७ गतेदेखि राति ९ बजे प्रसारण सुरु भएको कार्यक्रम प्रत्येक शनिबार र आइतबार प्रसारण हुनेछ । नेपाली मौलिक लोकदोहोरीको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको निर्देशन माधव राज खरेलले गरेका छन् । निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन् । ‘लोक दोहोरी च्याम्पियन’को डिजिटल पार्टनर म्युजिक नेपाल, भोटिङ पार्टनर खल्ती बाई आईएमई, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेका छन् । त्यस्तै, गुण फर्निचर फर्निचर पार्टनर, नेरिक एकेडेमी स्कुल पार्टनर, जिनो स्टुडियो स्टुडियो पार्टनर तथा हाम्रो मौलिक ब्याण्ड ब्याण्ड पार्टनरका रूपमा जोडिएका छन् ।

आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’ केवल मनोरञ्जनका लागि निर्माण गरिएको कार्यक्रम नभई नेपाली लोकदोहोरी क्षेत्रका नयाँ प्रतिभा खोजी गरी उनीहरूलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने अभियान हो । लोकदोहोरीलाई नेपाली माटो, संस्कृति र मौलिक पहिचानसँग जोड्दै नयाँ पुस्ताको आवाजलाई स्थापित गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजकको भनाइ छ । कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूको प्रतिभा प्रस्फुटनका लागि ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्