काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै प्रचण्डले भ्रमणलाई केहीले विशिष्ट र ऐतिहासिक भने पनि आफूले त्यस्तो नपाएको बताएका हुन् । उनका अनुसार भ्रमणका क्रममा कुनै नयाँ र तात्त्विक उपलब्धि हासिल भएको देखिँदैन । ‘मैले हेर्दाखेरी यो सामान्य र नियमित भ्रमणको रूपमा बुझेको छु। एउटा विशिष्टता जस्तो कोही–कोहीले भन्न खोजेका छन्, बडा भयो, ऐतिहासिक भयो भनेका छन्, त्यो सही होइन,’ प्रचण्डले भने, ‘एकचोटी प्रधानमन्त्री जानुपर्थ्यो, जानुभयो। गएपछि केही कुरा हुन्थ्यो, भयो। तर, नयाँ र तात्त्विक कुरा भयो भन्ने लाग्दैन।’
प्रचण्डले आफ्नो आधिकारिक भारत भ्रमणका क्रममा उठेका विषयको तुलनामा पनि वर्तमान भ्रमण उपलब्धिमूलक हुन नसकेको दाबी गरे । आफ्नो कार्यकालमा भारतसँग हवाई मार्ग, विद्युत् व्यापार र सीमा विवादका विषयमा ठोस पहल भएको स्मरण गर्दै उनले अहिलेको भ्रमणमा ती विषय सैद्धान्तिक छलफलभन्दा अगाडि बढ्न नसकेको टिप्पणी गरे । ‘कमसेकम सिमानाको बारेमा मैले र मोदीजीले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थियौँ। अहिले त्यो स्तरमा पुगेन,’ उनले भने, ‘भैरहवा एयर रुटको कुरा, नेपालगञ्ज र धनगढीका कुरा त्यतिबेलै चलेको हो। अहिले सैद्धान्तिक रूपमा भन्दा बढी भएको मैले तात्त्विक रूपमा देखेको छैन।’ यद्यपि, प्रधानमन्त्री शाहको भारत भ्रमण आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई भने सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘तैपनि प्रधानमन्त्री भारत भ्रमणमा जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अंकमाल गरेर आउनुभयो, त्यसलाई मैले सकारात्मक रूपमै लिनुपर्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्