काठमाडौं – चीन भ्रमणबाट फर्किएको सत्तारुढ दल रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । भेटमा भ्रमण टोलीको तर्फबाट पार्टी महामन्त्री विपिनकुमार आचार्यले लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन् । भेटमा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे सभापति लामिछानेलाई विशेष जानकारी गराए । केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका सन्दर्भमा अन्तर–पार्टी सहकार्यलाई सुदृढ बनाउने विषयमा गहन राजनीतिक छलफल भएको जानकारी आचार्यले लामिछानेलाई गराएका छन् ।
भ्रमणका क्रममा विभिन्न उद्योग–व्यवसायको अवलोकन तथा अन्तरक्रियाका साथै विपद्पूर्व र विपद्पश्चात्को रणनीति एवं तयारीबारे गरिएको अवलोकन र छलफलबारे पनि आचार्यले लामिछानेलाई जानकारी गराए । भेटघाटका क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे खुलेर संवाद भएको जानकारी आचार्यले गराए । भ्रमणबारे जानकारी लिएपछि सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा देखेका, सिकेका र छलफल भएका विषयहरूलाई पार्टीभित्र र देश विकासमा लागु हुने गरी कार्यान्वयनको दिशामा लैजान भ्रमण दललाई निर्देशन दिए । नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा शहरको भ्रमण गरी रास्वपाको २० सदस्यीय टोली बिहीबार राति नेपाल फर्किएको थियो ।



प्रतिक्रिया दिनुहोस्