सप्तरी — वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी तीव्र रूपमा आलोचनाको केन्द्रमा परेका थिए।
५ असोजमा उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका अध्यक्ष चौधरीले सोही दिन गाउँसभा बैठक पनि सम्पन्न भएको बताएका छन्। राजीनामा पत्रमा उनले लेखेका छन्, “म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु।” उनले आफ्नो पत्रमा पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकोले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। साथै उनले गाउँपालिकाको अध्यक्षको रूपमा पाएको अनुभवलाई “जीवनको महत्वपूर्ण उपलब्धि” मानेका छन् र आगामी दिनमा पनि समाजसेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष चौधरीको राजीनामा आज स्वीकृत भएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्। उनका अनुसार, आज बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। अध्यक्ष दिनानाथ चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्। जनप्रतिनिधिहरूबीचको विवादका कारण ५ कात्तिकमा मात्रै गाउँसभा सम्पन्न भएको थियो।



प्रतिक्रिया दिनुहोस्