Skip to content

नियमित महाधिवेशन पक्षधर कांग्रेस नेताहरूको भेला : प्रदेश र जिल्ला सभापतिहरूको सहभागिता

काठमाडौँ – नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन बनाम नियमित महाधिवेशन’ बहस तीव्र बन्दै गएको छ । यस्तैमा ‘नियमित महाधिवेशन पक्षधर’ नेताहरूले बिहीबार राजधानीमा भेला गरी संगठनभित्र सुधार र एकताको सन्देश दिएका छन् । गौशालास्थित अनुपम फुडल्याण्डमा भएको उक्त भेलामा कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा सहित विभिन्न जिल्लाका सभापतिहरू उपस्थित थिए । भक्तपुरका सभापति दुर्लभ थापा, ओखलढुङ्गाका तेजेन्द्र खनाल, अछामका पुष्पबहादुर शाह र मुगुका ऐनबहादुर शाही समेत सहभागी भएका छन् । युवा नेता शिव रिमालका अनुसार, भेलामा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र पूर्ववन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विशेष महाधिवेशनको मागसहित भेला गरेपछि, त्यसको जवाफस्वरूप डा. शेखर कोइराला पक्षका युवा नेताहरूले नियमित महाधिवेशनको पक्षमा यो भेला आयोजना गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा भएको भेलाको संयोजनमा भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला वर्मा, पुष्प शाही, लाओस् राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी र इन्दु शर्मा रहेका छन् । भेलामा सहभागी कतिपय जिल्ला सभापतिहरू संस्थापन पक्षका भए पनि उनीहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्ने साझा उद्देश्यका साथ सहभागिता जनाएको बताइएको छ । १४औं महाधिवेशनका क्रममा बागलुङका सभापति जित शेरचनले कृष्ण सिटौलाको प्यानलबाट विजयी भएका थिए, र उनी पनि यस भेलामा उपस्थित थिए । कांग्रेसभित्र अहिले विशेष महाधिवेशनको पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन् भने, संस्थापन समूह र नेता डा. शेखर कोइराला पक्ष नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टीभित्रको यो मतभेदलाई नेताहरूले “आन्तरिक लोकतान्त्रिक अभ्यास” को रूपमा व्याख्या गरे पनि, यसले आगामी संगठनात्मक दिशा र नेतृत्व समीकरणमा नयाँ तरङ्ग ल्याएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्