काठमाडौँ – नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) पदका दाबेदारका रुपमा हेरिएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने ‘जेनजी आन्दोलन’को चाहनालाई प्रहरी संगठनले पूरा गर्ने बताएका छन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख समेत रहेका एआईजी कार्कीले शुक्रबार नयाँ बसपार्क प्रहरी प्रभागको पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै भने, “जेनजी आन्दोलनको माग केवल युवाको होइन, यो त सम्पूर्ण नागरिकको अपेक्षा हो। नेपाल प्रहरी त्यस अपेक्षालाई पूरा गर्न कटिबद्ध छ।” उनले गोँगबु र नयाँ बसपार्क क्षेत्रलाई सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील भन्दै यस क्षेत्रमा प्रहरी मात्र होइन, नागरिक समाजको सहकार्य पनि जरुरी रहेको बताए। “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिस आवतजावत गर्छन्, त्यहाँ सुरक्षाको चुनौती ठूलो हुन्छ,” उनले भने, “राज्य र प्रहरी दुवैको दायित्व नागरिकको सुरक्षामा केन्द्रित रहनु हो।”
एआईजी कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्र रहेका १९३ प्रहरी कार्यालयमध्ये हालसम्म १८० वटा भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको जानकारी दिए। नयाँ भवनबाट प्रहरी अझ उच्च मनोबलका साथ सेवा गर्न सक्षम हुने विश्वास उनले व्यक्त गरे। कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदायको सहयोगमा प्रहरी भवन निर्माण हुनु समाज र सुरक्षाबीचको विश्वासको प्रतीक भएको बताए। कार्यक्रममा पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न संघ–संस्थालाई सम्मान गरिएको थियो। स्वच्छ छवि, व्यावसायिक दक्षता र नेतृत्व क्षमताका कारण एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आगामी आईजीपीका दाबेदारका रूपमा व्यापक रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्