Skip to content

तीन महिनाभित्र विशेष वा नियमित, कुनै न कुनै महाधिवेशन अनिवार्य : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब विशेष वा नियमित — कुनै न कुनै महाधिवेशन अनिवार्य हुने स्पष्ट संकेत दिएका छन्। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको विधानले तोकेको समयसीमा अब अपरिहार्य बनेको भन्दै तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता दोहोर्‍याए। शर्माले भने, “नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा — यो अहिलेको मूल प्रश्न होइन। तर विशेष महाधिवेशनको माग दर्ता भएको मितिले ९० दिनभित्र कुनै न कुनै रूपमा महाधिवेशन सम्पन्न गर्नैपर्छ भन्ने बिधानको दफा १७ (२) ले स्पष्ट निर्देशन दिएको छ। यो हामी सबैका लागि बाध्यात्मक विषय हो।” असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका थिए। त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ।

महामन्त्री शर्माले सो मागलाई अब बेवास्ता गर्न नसकिने उल्लेख गर्दै भने, “विशेष महाधिवेशनको मागलाई या विशेष महाधिवेशन आयोजनाले, या त्यही अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गरेर मात्रै सम्बोधन गर्न सकिन्छ। यसमा हामी द्विविधामा पर्नुहुन्न।” उनको भनाइले कांग्रेस नेतृत्व अब विधानअनुसारको निर्णयतर्फ उन्मुख हुनुपर्ने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्