काठमाडौँ – उज्यालो नेपाल पार्टीले डा. राजु थापालाई पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ। शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले भोजपुरका थापालाई आधिकारिक रूपमा प्रवक्ता नियुक्त गरेको हो। विपद् व्यवस्थापनमा पिएचडी गरेका डा. थापा पेशाले कानुन व्यवसायी समेत हुन्।
हालै निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको उज्यालो नेपाल पार्टीको नेतृत्व पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले गरिरहेका छन्। पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ भने चुनाव चिह्न ‘बलेको चिम’ तोकिएको छ।
दल दर्तासँगै पार्टी अब बृहत घोषणासभाको तयारीमा जुटेको छ। केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालको नेतृत्वमा घोषणापत्रलाई अन्तिम रूप दिइँदैछ। आउँदो मंसिर १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने घोषणासभामा ‘समृद्धि र सुशासनको उज्यालो कार्यक्रम’ सार्वजनिक गरिने पार्टीले जनाएको छ। प्रवक्ता थापाले पार्टी एकीकृत वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यसहित चुनावी तयारी र आवश्यक गृहकार्य एकसाथ अघि बढिरहेको बताए। नेताहरूका अनुसार उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचमा आधारित दल हो, जसको दीर्घकालीन गन्तव्य ‘उन्नत समाजवाद’ हो।
गुणस्तरीय पूर्वाधार विकास, समग्र आर्थिक समृद्धि र उद्यमशील युवाको नेतृत्वलाई प्राथमिकता दिएको पार्टीले समानुपातिक सहभागिता, मेरिटोक्रेसी, ‘सही व्यक्ति–सही ठाउँ’ भन्ने मूल मन्त्रमा आधारित राजनीतिक अभ्यास गर्न प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्