काठमाडौं — नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्पन्न हुनसक्ने कुनै पनि सुरक्षा चुनौतीको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने स्पष्ट चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी भएका थिए । बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ भुसालले कांग्रेस चुनावमा कुनै पनि प्रकारको सुरक्षा जोखिम स्वीकार नगर्ने बताइन् ।
भुसालका अनुसार, कांग्रेसले बैठकमा “यदि कुनै सुरक्षा थ्रेट देखा परे त्यसको पूर्ण जिम्मेवारी सरकारकै हुनेछ” भन्ने स्पष्ट सन्देश दिएको छ । उनले थप भनिन्, “वर्तमान सरकारलाई फागुन २१ गते निर्वाचन नगराउने कुनै छुट छैन । सरकार निर्वाचन गराउन बाध्य छ र त्यसको जिम्मेवारी बहन गर्नुपर्छ ।” भुसालका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले समेत बैठकमा सरकारले कुनै पनि चुनौती सामना गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। कांग्रेसले सुरक्षा तयारी सुदृढ गर्न, वातावरण शान्त र सुरक्षित राख्न तथा जनतामाथि भरोसा कायम राख्ने जिम्मा सरकारले नै वहन गर्नुपर्नेमा जोड दिएको छ ।




प्रतिक्रिया दिनुहोस्