झापा – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याबसन)द्वारा आयोजना गरिएको जिल्ला स्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्र ज्योति मा.वि.को खेलमैदानमा आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटनलगत्तै एमिटि र कानगोई स्कूलबीच भएको रोमाञ्चक फुटबल खेलले सम्पूर्ण माहोल उत्साहपूर्ण बनाएको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक खेलकुद प्रदर्शन, सांस्कृतिक प्रस्तुति र सहभागिताले खेलमैदान भरपूर रौनकयुक्त बनेको थियो। कार्यक्रम एन प्याबसन झापा अध्यक्ष तथा सिर्द्धार्थ शिक्षा सदनका प्रिन्सिपल धर्मराज माझीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि एन प्याबसन केन्द्रीय वरिष्ठ उपाध्यक्ष बृजेन्द्र मिश्रले पानसमा दियो प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, नेशनल प्याबसन कोशी प्रदेश अध्यक्ष कमल खनाल, केन्द्रीय सदस्य नारायण ढकाल, प्रदेश सचिव दीपक न्यौपाने, मिडल प्वाइन्ट स्कूलका भाइस–प्रिन्सिपल अभिनाथ राजबंशी, कानगोई बोर्डिङ स्कूलका भाइस–प्रिन्सिपल सुनिल राजबंशी, सिर्द्धार्थ बोर्डिङ स्कूलका व्यवस्थापक मन्दिर शाही तथा पूर्व राष्ट्रिय फुटबलर प्रवेश कटुवाललगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक सुवर्ण भट्टराईले सहभागीहरूलाई स्वागत गरेका थिए। सिर्द्धार्थ बोर्डिङ र मिडल प्वाइन्ट विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यले समारोहलाई झनै आकर्षक बनायो। यसैगरी, वडा अध्यक्ष दुर्योधन गुरुङ र महेन्द्र ज्योति माविका प्रधानाध्यापक जयकुमार झालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन देशराज नेम्बाङले गरेका थिए। उद्घाटन सत्रपछि प्रमुख अतिथिले रेफ्रीलाई फुटबल बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुआत गरेका थिए।





प्रतिक्रिया दिनुहोस्