Skip to content

वनलाई वैज्ञानिक ढंगले विकास गरे प्रदेशको मुख्य आम्दानी स्रोत बन्न सक्छ – मुख्यमन्त्री बानियाँ

काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वन क्षेत्रलाई वैज्ञानिक र दिगो ढंगले विकास गर्दै निर्यात वृद्धि तथा आम्दानी स्रोतका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालयले आयोजित आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री बानियाँले वन क्षेत्रको समग्र सुधार, प्रभावकारिता र परिणाममूलक काममा ध्यान दिन निर्देशन दिए। गोदावरीस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सम्पन्न कार्यक्रममा उनले त्रैमासिक समीक्षा केवल बजेट खर्चमा केन्द्रित नहुनु पर्ने उल्लेख गर्दै अनुसन्धान, तालिमको प्रभावकारिता, प्रविधिको उपयोग तथा जडीबुटी व्यवस्थापनको गुणस्तरीय मूल्यांकन अपरिहार्य रहेको बताए।

“बजेट खर्च मात्र हेर्न बसेका होइनौँ,” उनले भने, “नीति, तालिम, प्रविधि र जडीबुटी व्यवस्थापनको गम्भीर मूल्यांकन अनिवार्य छ।” मुख्यमन्त्री बानियाँका अनुसार बागमती प्रदेशको ५३ प्रतिशत भू–भाग वनले ढाकिएको छ र यसलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्न सके बहुमूल्य जडीबुटी प्रशोधन उद्योग स्थापना गरी नेपालमै मूल्यवृद्धि सम्भव छ। उनले संरक्षणसँगै लाभांश आर्जन गर्ने बाटो पहिचान गर्न सके वन प्रदेशको मुख्य आम्दानी स्रोत बन्न सक्नेमा जोड दिए ।“हरियो वन नेपालको धन भन्ने नारामा मात्र सीमित भएर हुँदैन,” उनले भने, “वनलाई आम्दानीको दिगो स्रोत बनाउने मार्ग पहिचान गर्नुपर्छ।” मुख्यमन्त्री बानियाँले पर्यटकमैत्री वातावरण निर्माणका लागि सेमिनार–कार्यक्रमहरूलाई वातावरणमैत्री बनाउने तथा होटल–रेस्टुरेन्टमा काठका सामग्री प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिए। राष्ट्रिय वन, सामुदायिक वन र निजी वन तीनै तहको सक्रिय सहकार्य रहने हो भने बागमती प्रदेशले वन क्षेत्रलाई पहिलो आम्दानीकाे आधार बनाउन सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्