Skip to content

डडेल्धुराबाट चुनाव लड्ने तयारीमा सभापति देउवा

 

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने संकेत दिएका छन्। गृहजिल्लाका युवाको भेटघाटमा देउवाले चुनावी तयारीबारे खुलस्त धारणा राख्दै ‘अन्तिम पटक डडेल्धुरा हुँदै चुनावमा उभिन चाहन्छु’ भन्ने अभिव्यक्ति दिएका हुन्। नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग मंगलबार महाराजगञ्जस्थित निवासमा भएको कुराकानीमा पनि उनले यही कुरा दोहोर्याएका थिए।

भट्टका अनुसार, “सभापतिज्यूले अबको प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाटै उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा प्रकट गर्नुभयो।” हालैसम्म देउवा सक्रिय राजनीतिबाट पछि हट्ने कि भन्ने आकलन भइरहे पनि, गृहजिल्लाका युवाहरूसँगको भेटमा उनले फेरि एकपटक जनमत लिन तयार भएको सन्देश दिएका छन्। २०४८ देखि २०७९ सम्मका सात पटकका निर्वाचनमा देउवा डडेल्धुराबाटै विजयी हुँदै आएका छन्। यस्तै, पार्टी केन्द्रीय समितिको कार्यतालिका अनुसार १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेभित्रै सम्पन्न गर्ने तयारी भइरहेको जानकारी पनि देउवाले दिएका छन्। उनका अनुसार पार्टीभित्र युवाको प्रतिनिधित्व बढाउने र आगामी आम निर्वाचनमा उनको भूमिकाबारे स्पष्ट योजना अघि बढाइनेछ।

 

प्रतिक्रिया दिनुहोस्