काठमाडौँ – आसन्न महाधिवेशनमा विभिन्न पदका आकांक्षी नेताहरू व्यवस्थापन गर्न गाह्रो परेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पदाधिकारी संख्या बढाउने तयारीमा लागेका छन् । शनिबारबाट सुरू हुने ११औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार सचिवालय बैठक आह्वान गरेका ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्याउन खोजेका हुन् । भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको थियो । पोलिटब्युरो सदस्य महेश बस्नेतले शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने जानकारी दिए । उनका अनुसार पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउनेबारे छलफल हुनेछ। अहिले केन्द्रीय कमिटी २५१ सदस्यीय छ ।
‘पदाधिकारी संख्या फेरि १९ पुर्याउने, २५१ सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाउने र मनोनित प्रतिनिधि टुंग्याउने एजेन्डासहित महत्त्वपूर्ण छलफल हुनेछ,’ उनले भने । शनिबारदेखि एमालेको ११औं महाधिवेशन सुरू हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो ।




प्रतिक्रिया दिनुहोस्