Skip to content

फागुन २१ मै निर्वाचन हुनुपर्छ: शेखर कोइराला

 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनैपर्नेमा जोड दिएका हुन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय कांग्रेस नेताहरूसँग भएको भेटघाटका क्रममा नेता कोइरालाले पार्टीलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले नेपाली कांग्रेस निर्वाचनमा जान आतुर रहेको उनको भनाइ थियो। उनले संविधान जोगाउन र मुलुकलाई राजनीतिक संक्रमणबाट बचाउन निर्वाचन अपरिहार्य रहेको बताए। ‘संविधान बचाउने र देशलाई संक्रमणबाट जोगाउने उपाय भनेकै निर्वाचन हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा शंका पैदा भएको छ,’ कोइरालाले भने।

सरकारले अझैसम्म निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाए। ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्। यस्ता विषयमा सरकारले के सोचिरहेको छ?’ उनले प्रश्न गरे। नेता कोइरालाले समयमै निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्