Skip to content

जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, गम्भीरताअनुसार १८ हजारसम्म सहयोग

काठमाडौं – सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता प्रदान गरिने भएको हो । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै सहयोग प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ ।

वर्गीकरण अनुसार मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ उपलब्ध गराइनेछ। सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था गरिएको छैन। कार्यविधिको उपदफा (१०) बमोजिम यो भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण अन्तर्गत हालसम्म काठमाडौं, कास्की र चितवन गरी तीन जिल्लाका १८३ जना घाइतेको वर्गीकरण सम्पन्न भएको छ। वर्गीकरण अनुसार १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन् । काठमाडौं जिल्लामा मात्र १६० जना घाइतेको वर्गीकरण गरिएको छ। जसमध्ये १६ जना अति गम्भीर, ५२ जना गम्भीर, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते रहेका छन् । त्यस्तै, कास्की जिल्लामा हालसम्म ७ जना घाइते वर्गीकृत भएका छन्, जसमा २ जना अति गम्भीर, ३ जना गम्भीर र २ जना सामान्य घाइते रहेका छन्। चितवनमा भने कुल ७ जना घाइतेको वर्गीकरण गरिएको छ, जहाँ अति गम्भीर र गम्भीर घाइते कोही नभई मध्यम ३ जना र सामान्य ४ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७४ वटा स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार जेनजी आन्दोलनका क्रममा देशभर कुल २ हजार ५२२ जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्