Skip to content

निर्वाचन सार्न खोजे चुप नबस्ने प्रचण्डको चेतावनी

 काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि तर्क वा बाहानामा निर्वाचन सार्ने प्रयास नगर्न सरकारलाई कडा चेतावनी दिएका छन् । यदि निर्वाचन सार्ने काम गरिए आफूहरू चुप लागेर नबस्ने स्पष्ट सन्देश पनि उनले दिएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि चुनाव सार्ने प्रयास भए संविधान मिचिने अवस्था आउने बताए । वर्तमान अवस्थामा देशलाई संकटबाट जोगाउन र सहज रूपमा निर्वाचन सम्पन्न गराउन आफूहरूले शक्ति एकीकृत गरेको उनको भनाइ थियो । उनले अघिल्ला चरणमा केही हदसम्म संविधान उल्लङ्घन भएको स्वीकार गर्दै त्यसबेला देशको असहज परिस्थितिलाई ध्यानमा राखेर आफूहरूले सहयोग गरेको बताए । अन्तरिम सरकार निर्माणका लागि समेत पहल गरिएको स्मरण गराउँदै उनले अहिलेको सरकारले पुनः निर्वाचनको मिति धकेल्ने वा सार्ने काम गरे त्यसले संविधानमाथि पुनः आघात पुर्‍याउने उल्लेख गरे ।

प्रचण्डले निर्वाचनको मिति ६ महिना वा एक वर्ष सार्ने विषयमा हल्ला चलिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। यस्ता कदम चालिए देश फेरि दुर्घटनातर्फ धकेलिने उनको चेतावनी छ । अबको अवस्थामा देश कुनै संकटमा परे नेपाली कम्युनिस्ट पार्टी रमिते बनेर नबस्ने उनले स्पष्ट पारे । उनले केही शक्तिहरूबाट धम्कीपूर्ण र दम्भी भाषा प्रयोग भइरहेको उल्लेख गरे पनि आफू शान्तिपूर्ण ढंगले समयमै निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा रहेको बताए । सरकारलाई जिम्मेवार भएर संविधानअनुसार निर्वाचन गराउन उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्