काठमाडौं – सुदूरपश्चिम समाज काठमाडौंको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले इ. रामदत्त पन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्षसहित ६ जना पदाधिकारी तथा सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट एक–एक जना प्रतिनिधि रहने गरी ९ जना सदस्य चयन गरिएको समाजले जनाएको छ ।उपाध्यक्षमा दुर्गा भण्डारी र विसन नाथ, सचिवमा बखत बहादुर साउद, सहसचिवमा शंकरदत्त भट्ट र कोषाध्यक्षमा तिलक प्रसाद भट्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा विष्णुदत्त भट्ट, कमला सिंह, कमला बोहरा, राजेश विष्ट, हरिष पन्त, अर्जुन कुमार रोकाया, हर्क भाट र ब्रिन्दा साउद चयन भएका छन् ।
यससँगै समाजले समावेशी प्रतिनिधित्व र प्रदेशस्तरीय एकताको अभ्यासलाई निरन्तरता दिएको छ । साधारण सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष इ. रामदत्त पन्तले सुदूरपश्चिमको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनलाई संस्थाको मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूको सामाजिक, सांस्कृतिक तथा बौद्धिक एकतालाई थप मजबुत बनाउने, नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्ने र सुदूरपश्चिमका स्रष्टा तथा प्रतिभाहरूलाई राष्ट्रियस्तरमा चिनाउने खालका कार्यक्रम अघि बढाइने बताए । अध्यक्ष पन्तले समाजलाई केवल औपचारिक संस्थामा सीमित नराखी सुदूरपश्चिमको साझा आवाज बन्ने दिशामा अघि बढाइने उल्लेख गर्दै सबै सदस्य र शुभेच्छुकहरूको सहयोग अपरिहार्य रहेको धारणा राखे ।
कार्यक्रममा साहित्यिक गतिविधिलाई समेत विशेष महत्व दिइएको थियो । सो अवसरमा डाक्टर हरिदत्त पाण्डेयद्वारा लिखित “सेतीलाकालीका छाल” र “मित्यारी” कृतिहरूको लोकार्पण गरिएको थियो । “सेतीलाकालीका छाल” कृतिमाथि साहित्यकार दामोदर पुडासैनीले र “मित्यारी” कृतिमाथि साहित्यकार नरेन्द्र रेग्मीले विवेचना गर्दै कृतिहरूले सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र साहित्यिक जीवनलाई गहिरोसँग चित्रण गरेको बताए । साधारण सभाको अवसरमा शिक्षा, साहित्य, समाजसेवा, संस्कृति तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित व्यक्तिहरूले सुदूरपश्चिम समाजले गर्दै आएको पहिचान जगेर्नाको अभियानलाई थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका थिए । समग्रमा, १६औँ साधारण सभा नेतृत्व चयनसँगै सुदूरपश्चिम समाज काठमाडौंलाई नयाँ ऊर्जा र दिशातर्फ अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको समाजले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्