Skip to content

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको प्रभाव र चलखेल छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको धारणा व्यक्त गरेका छन् । थापागाउँमा मंगलबार आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक अवस्थिति नै यस्ता गतिविधिको कारण बनेको बताए ।  उनका अनुसार नेपाल विश्वकै दुर्लभ रणनीतिक भौगोलिक स्थानमा अवस्थित छ, जहाँ उत्तर र दक्षिणमा दुई ठूला छिमेकी मुलुक रहेका छन्। यही कारण छिमेकी राष्ट्रहरू मात्र होइन, विश्वका शक्तिशाली देशहरूको पनि नेपालमा चासो र प्रभाव देखिनु स्वाभाविक भएको उनले उल्लेख गरे । नेपालमा विदेशी चलखेल छैन भन्नु यथार्थपरक नहुने उनको भनाइ थियो । डा. कोइरालाले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूप्रति चासो र चिन्ता दुवै राख्ने गरेको बताए । उनका अनुसार त्यसको प्रमुख कारण नेपाली राजनीतिज्ञहरू जनताप्रति इमान्दार नहुनु र विदेशी शक्तिहरूसँग पनि स्पष्ट तथा इमान्दार व्यवहार नगर्नु हो। यही विषय विदेशी शक्तिहरूको सबैभन्दा ठूलो गुनासो रहेको उनले स्पष्ट पारे ।

उनले विदेशी शक्तिहरूले सधैं नेपाली राजनीतिज्ञहरूलाई जनताप्रति इमान्दार हुन, जनताको काम प्रभावकारी ढंगले गर्न र आफूहरूलाई भ्रममा नपार्न आग्रह गर्दै आएको बताए। यसले नेपाली राजनीतिमा विश्व समुदायको अपेक्षा स्पष्ट रूपमा देखाउने उनको धारणा थियो ।डा. कोइरालाले देशका दलका नेताहरूले व्यक्तिगत स्वार्थ र सत्ता जोगाउने उद्देश्यले गलत कदम चालिरहेकोप्रति पनि टिप्पणी गरे । यस्तो प्रवृत्तिले देश र जनताको हितमा नकारात्मक असर पारेको उनको भनाइ थियो । अन्त्यमा उनले आगामी दिनमा बन्ने सरकारले गलत कार्य र गलत प्राथमिकतालाई प्रश्रय नदिने र दोषीहरूलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरे । अबको सरकारसँग आत्मबल, क्षमता र विश्वास रहेको भन्दै देशलाई सही दिशामा लैजान सकिने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्