बिराटनगर – गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। मंगलबार मोरङको बिराटनगर आइपुग्नु भएका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख मान्यताका साथ यो सरकारले काम गरिरहेको बताएका हुन् । गृहमन्त्री अर्याल भोलि बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार विराटनगर पुगेका हुन् । मोरङस्थित बुधनगरमा सन् २०२० बाट संचालनमा आएको नेपाल-भारत एकिकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षण पछि मन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् । अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको मन्त्री अर्यालले बताए ।
शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउनु हुँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकोले त्यस तर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए । एक सय २९ बिगाहामा फैलिएको एकिकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकोसमेत उनले बताए । त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत बताए । यस्तै, आजै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पु:मर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गरे । सो क्रममा सिडीओ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरुबारे बृफिङ गरेका थिए । यस्तै, मन्त्री अर्यालले आजै कोभिड-१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नु भयो। हाल यो होल्डिङ सेन्टर खालि अवस्थामा सेनाको निगरानीमा यतिकै खालि अवस्थामा छ ।






प्रतिक्रिया दिनुहोस्