Skip to content

सुदूरपश्चिम कांग्रेस : १६ सिटमा १०२ आकांक्षी, देउवा–बडु मात्रै एकल सिफारिस

काठमाडौँ –  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र टिकटको रस्साकस्सी तीव्र देखिएको छ। प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न १०२ जना नेताले दाबी गरेका छन्। औसतमा एक सिटमा ६ जनाभन्दा बढी आकांक्षी परेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले केन्द्रमा पठाएको विवरणअनुसार पार्टी सभापति शेरबहादुर देउवा (डडेल्धुरा) र दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु मात्रै सर्वसम्मत एकल सिफारिस हुन सकेका छन्। बाँकी १४ सिटमा १०० जना आकांक्षीको भिड छ । डडेल्धुराबाट पाँच दशकभन्दा बढी समयदेखि संसदीय राजनीतिमा सक्रिय देउवाको नाम गृह जिल्लाले विकल्प नखोजी एकल पठाएको हो। दार्चुलामा पनि बडुको नाम एकल सिफारिस भएको छ । तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आकांक्षीको संख्या धेरै छ। कैलाली–५ बाट केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पहिलो नम्बरमा सिफारिस भएकी छन् । त्यहाँ नरनारायण शाह (मनु), डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वड पनि सिफारिस सूचीमा छन् । कैलाली–४ बाट वीरबहादुर बलायरको नाम डोटीबाट पनि सिफारिस भएको छ ।

कञ्चनपुरमा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद (क्षेत्र २) र प्रमुख सचेतक रमेश लेखक (क्षेत्र ३) समेत एकल सिफारिस हुन सकेनन् । प्रदेश प्रवक्ता सुरतबहादुर रावत ‘डोटेली कान्छा’का अनुसार जिल्ला र क्षेत्रबाट आएका सिफारिस जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । टिकट वितरणको अन्तिम निर्णय कांग्रेस केन्द्रीय नेतृत्वले गर्नेछ । आकांक्षीको भीडले सुदूरपश्चिममा कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा थप चर्किएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्