काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएको समूह पार्टीबाट अलग्गिएको मात्र भएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न पुगेका कोइरालाले सञ्चारमाध्यमका कारण आयोगसम्म जानुपरेको अवस्था बनेको बताए । उनले पार्टीका बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफ्नो पक्षमा रहेको दाबी गर्दै निर्वाचन आयोगमा जानुपर्ने विषय नै नभएको स्पष्ट पारे । पार्टीको आधिकारिकता सम्बन्धी निर्णय निर्वाचन आयोगले लोकतान्त्रिक विधिअनुसार गर्ने विश्वास पनि उनले व्यक्त गरे । डा. कोइरालाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट व्यवस्था विधानमा रहेको जिकिर गरे । कुनै पनि पदाधिकारीलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको र व्यक्ति नभई संस्थागत निर्णय नै आधिकारिक हुने उनको भनाइ थियो ।
उनले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरू अहिले पनि एउटै ठाउँमा रहेको उल्लेख गर्दै केही सदस्य मात्र अलग्गिएको बताए। विधानले कसैलाई पनि विशेष अधिवेशन बोलाउने अधिकार नदिएको भन्दै संस्थागत प्रक्रिया र निर्णयलाई आधार मानेर अघि बढ्नुपर्ने उनको जोड थियो। उनले केही पदाधिकारी वा समूहको व्यक्तिगत दाबीलाई मान्यता दिनु गम्भीर विषय हुने बताए । डा. कोइरालाले महाधिवेशनमा सहभागी भएका ८८५ जना प्रतिनिधिहरूले सो महाधिवेशनबाट आफूहरू फर्किएको उल्लेख गर्दै हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा बुझाएको जानकारी दिए। ती हस्ताक्षरसहितका प्रमाण निर्वाचन आयोगमा पनि पेश गरिएको उनले बताए ।





प्रतिक्रिया दिनुहोस्